भारतको सशस्त्र सीमा बलका प्रमुख आज काठमाण्डौ आउँदै

काठमाण्डौ । नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारीमा रहेको भारतको सशस्त्र सीमा बल ९एसएसबी० प्रमुख अमृत मोहन प्रसाद आज काठमाण्डौ आउँदै हुनुहुन्छ ।

हरेक वर्ष पालैपालो एकअर्काको देशमा हुने द्विपक्षीय संवादका लागि एसएसबी महानिर्देशक अमृत मोहन प्रसाद नेपाल आउन लाग्नुभएको सशस्त्र प्रहरीले जनाएको छ । खुला सीमा सुरक्षाको विशेष जिम्मेवारीमा रहेका दुई सङ्गठनहरूको यस्तो परम्पराले आपसी आत्मविश्वास बढाउने विज्ञहरूले बताएका छन् ।

सीमा सुरक्षामा खटिएका दुईवटा देशका सीमा सुरक्षा फौजबीच मैत्रीपूर्ण सम्बन्ध राखिराख्नका लागि यो भ्रमणको महत्त्व रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।

पर्सि आइतवारसम्म दुई सुरक्षा सङ्गठनबीच हुने द्विपक्षीय बैठकमा सीमा सुरक्षाका धेरैजसो पुरानै र केही नयाँ परिवेशका विकसित घटनाक्रमले प्राथमिकता पाउने सहप्रवक्ता थापाको भनाइ छ ।

सीमा सुरक्षाका अतिरिक्त नेपाल–भारत सीमामा लागुऔषध औसारपसार, साना हतियार तस्करी, मानव बेचबिखन, अनौपचारिक व्यापारलगायतका विषयमा दुई सङ्गठनहरू सहकार्य गर्दै आएका छन् ।

यसैबीच, भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पनि मङ्सिर पाँच गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि भारतीय दुई सुरक्षा निकायका प्रमुखहरू नेपाल आउने भएका हुन् । प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन जाँदै हुनुहुन्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search