काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरू कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घको साधारणसभालाई आज सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरूले ऋणीहरूसँग ऋणको सावाँ–ब्याज उठाउन नसक्दा समस्यामा परेका उल्लेख गर्नुभयो ।
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको पनि दाबी गर्नुभयो ।
गर्भनर अधिकारीले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंकले गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरूमा पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको बताउनुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंकको प्रोभिजनिङको व्यवस्थाले बैंकहरूलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने उल्लेख गर्नुभयो । उहाँले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंकको आफ्नै कारणले दिन नसकेको बनाउनुभयो ।
अधिकारीले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरूबाट काम हुन नसकेको पनि उल्लेख गर्नुभयो ।