काठमाण्डौ । विपद् व्यवस्थापनका लागि काभ्रेका पालिकाले चालू आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् । गएको असोज दोस्रो हप्ताको बाढी पहिरोका कारण जिल्लामा जनधनको क्षति भएपछि राहत तथा पुनर्वासका लागि पालिकाहरूले विशेष सभामार्फत योजनागतरूपमा विनियोजित बजेट कटौती गर्न थालेका हुन् ।
धुलिखेल नगरपालिकाको १६ औं अधिवेशनमा हिजो विशेष सभाको आयोजना गरी बाढी पहिरोका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुनर्निर्माणका लागि नगरले आवश्यक बजेट विनियोजन गर्न चालू आर्थिक वर्षको ७५ वटा योजनाको बजेट संशोधन गर्ने निर्णय गरेको छ ।
मेयर अशोक व्याञ्जुका अनुसार नगरमा विपद्बाट भएको क्षतिको जानकारी गराउँदै धुलिखेललाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । यसअघि रोशी र बेथानचोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनर्स्थापना एवम् पुनर्वासका लागि चालू आर्थिक वर्षको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गरेका छन् ।











