काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फिँजाएको आरोप लगाएका छन्।
शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा उनले लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैलाएको आरोप लगाएका हुन्।
उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले जलविद्युत वितरणमा केही घण्टा समस्या भएको बताए। उनले ऊर्जामन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको बताए।
उनले माथिल्लो तामाकोशी र कालीगण्डकी बन्ने बित्तिकै विद्युत वितरणको समस्या समाधान हुने दावी गरे। उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए।
‘विद्युत प्राधिकरणमा नाफा भयो भन्ना साथ खुशी नहुने, प्राधिकरणमा घाटा भयो भन्नासाथ खुशी हुने जमात पनि छ। यो देखाएर त्यो भित्रबाट कसरी आफूले कमाउने भन्ने पनि रहेछ। त्यो जमातको हल्ला, लोडसेडिङ हुँदा रमाउने जमातले गरिरहेको छ‚’ उनले भने, ‘नेपालमा लोडसेडिङ हुँदैन‚ लोडसेडिङ भएको छैन। केही समयको लागि प्राविधिक समस्या हो।
उनले माथिल्लो तामाकोशी र कालीगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि विद्युतको समस्या पनि हट्ने जानकारी दिए। उनले व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए।
उनले उद्योगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा गर्यो भन्दै हल्ला फैलाउन व्यस्त भएको बताए।
‘माथिल्लो तामाकोशी बाढीले क्षति गरेको छ। त्यो बनाउन कसैले सहयोग गर्नुपर्दैन। कालीगण्डकी आयोजनाको एउटा युनिट बन्द छ‚’ उनले भने, ‘५०० मेगावाटको पिकिङ पावर प्लान्टहरु बन्द छ। त्यति गर्दा पनि हामीले लोडसेडिङ हुन दिएका छैनौँ। बेलुकाको पिक समयमा केही समय र विहानको पिक समयमा उद्योगहरुलाई कम चलाउन भनेका छौँ।’
उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनुको विकल्प नभएको उल्लेख गरे। उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्नेमा जोड दिए।











