चिरखाङको चित्कार (वृत्रचित्र)

नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले संखुवासभाको मकालु गाउँपालिका १ चिरखाङ्गका पहिरोको जोखिममा रहेका १७ घरलाई जोगाउन जिल्लाका सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षता तथा जिल्ला दैवीप्रकोप उद्धार समिति संखुवासभाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको प्रमुख आतिथ्यतामा खाँदबारी नगरपालिकाको सभाहलमा आईतबार भएको कार्यक्रममा पत्रकार मेघराज तामाङ्गद्वारा निर्मित चिरखाङको चित्कार बृत्तचित्र प्रदर्शनी समेत गरिएको थियो । प्राण रक्षाको खोजिमा चिरखाङ्बासी, चिरखाङको भविष्य के ? शिर्षकमा गरिएको कार्यक्रममार्फत उक्त स्थानको भौगोलिक अवस्था, बाढिपहिरोका कारण बर्षेनी स्थानीय बासिन्दाले भोग्न परेका पिंडा र उनिहरुको जिवनशैलीका बारेमा छलफल तथा समाधानको विषयमा अन्तरक्रिया गरिएको हो ।

उक्त कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी शेर्पा, खाँदबारी नगरपालिकाका प्रमुख तथा उपप्रमुख, जिल्ला स्थीत राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, त्यसक्षेत्रका पहिरो पिडित, जिल्लाका सरोकारवाला कार्यालय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज र संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी शेर्पाले त्यस क्षेत्रमा पालिकाले गर्दै आएको काम, पहिरो नियन्त्रणको प्रयास र त्यसक्षेत्रका जनताले दैनीक जिवनमा भोग्न परेका समस्याका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका सचिव टकमान घलेले चिरखाङ्गको पहिरो नियन्त्रणका लागि मकालु गाउँपालिका मात्रै नभएर सिंगो जिल्ला, प्रदेश र संघले विशेष योजना ल्याउन आवश्यक भएको धारणा राख्दै नेपाली काँग्रेसको तर्फबाट सकेको पहलका लागि प्रयास गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका युवा नेता झलक बुढाथोकीले कारुणीक र मर्मस्पर्शी दैनीकीबाट चिरखाङ्बासीलाई मुक्त गर्न सबैपक्षबाट उनिहरुको स्थानान्तरणको पहल गरिनुपर्ने धारणा राख्नु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला सचिव रमोद श्रेष्ठले चिरखाङ्का बासिन्दाको प्राण रक्षाका लागि एकिकृत बस्ती बिकासमा जोड दिँदै स्थानान्तरणको बहुआयामिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिका युवा नेता सिताराम नेपालले जिल्लाको अतिदुर्गम चिरखाङ्का बासिन्दाको कष्टकर जिवनको संबेदनशिल बिषयलाई सदरमुकाम खाँदबारीमा सार्थक छलफल गराएकोमा नेपाल पत्रकार महासंघलाई धन्यबाद प्रकट गर्नूभएको थियो । रास्वपा नेता नेपालले बर्षौं देखि त्यस क्षेत्रको जनताको दुर्दशा देख्दा देख्दै कसैबाट पनि ठोस पहल नहुनु दुखद भएकाले स्थानीय सरकारका रुपमा रहेको मकालु गाउँपालिकाले सबै तहका सरकारसंग आवश्यक समन्वय गर्न ढिला गर्न नहुनेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा जनता समाजबादीका जिल्ला नेता सिताराम तिम्सीनाले चिरखाङ्का बासिन्दाको समस्या भौगोलिक, आर्थिक र शिक्षा स्वास्थ्यको हिसावले असहज देखिएकाले नागरिकको जिवन शिक्षा र स्वास्थ्यको अधिकार रक्षाका लागि पनि सरकारले उनिहरुको उचित ब्यवस्थापनका लागि स्थानान्तरणको ब्यवस्था गर्नूपर्नेमा जोड दिनुभयो ।

स्थानान्तरणको प्रकृया बढि जटिल र झण्जटिलो भएकाले सरकारले सहज नितिगत ब्यवस्था गरि यस्ता जोखिमपुर्ण क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहज निति बनाउन आवश्यक रहेको खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले मकालु गाउँपालिका १ चिरखाङ्को सुनिश्चित भविश्यका लागि सरोकारवाला निकायहरुबिच छलफल गरि ठोस निकास निकाल्न जिल्ला बिपद ब्यवस्थापन समितिले आवश्यक पहल गर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा समन्वय ईकाईका प्रमुख गोपालमान भण्डारी, घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख प्रेमचन्द्र कुलुङ्गले त्यस क्षेत्रका नागरिकको शिक्षा स्वास्थ्य र जिवीकोपार्जनका लागि शिप र क्षमता अभिबृद्धिका कार्यक्रम अघि सार्न पहल गर्ने धारणा राख्नुभएको थियो ।

bty

कार्यक्रमका सभापति तथा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले मकालु गाउँपालिका १ चिरखाङ लगायत जिल्लाका यस्ता जटिल समस्याको समयमै पहिचान र निराकरणका लागि जिल्ल्ला बिपद ब्यवस्थापन समिति र स्थानीय सरकारहरु योजनावद्ध सामुहिक नितिका साथ अघि बढ्न आवश्यक रहेको बताउनु भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search