काठमाण्डौ । गुल्मीमा वन्यजन्तुबाट क्षति भएका बालीनाली र पशुधन बापतको राहत रकम किसानले अझै पाएका छैनन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि डिभिजन वन कार्यालय गुल्मीका किसानले राहतका लागि दिएका निवेदन दिएका थिए । तर डेढ वर्षसम्म पनि कार्यालयले किसानलाई राहत रकम उपलब्ध नगराएको किसानले गुनासो गरेका छन् ।
वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिका लागि प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयबाट किसानलाई क्षति बापतको राहत उपलब्ध गराउने व्यवस्था छ । तर बजेटको सुनिश्चितता नभएको भन्दै मन्त्रालयले डेढ वर्षसम्म पनि राहत जिल्लामा उपलब्ध नगराएका कारण किसानलाई राहत उपलब्ध गराउन नसकिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
डिभिजन वन कार्यालय गुल्मीमा वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिको लागि एक सय पाँच जना किसानले आवश्यक कागजातसहित कार्यालयमा निवेदन पेश गरिसकेका छन् ।
किसानहरुले पेश गरेका निवेदनमा ४२ जनाले बालीनाली र ६३ जनाले पशुधन क्षति भएको भन्दै राहतको दाबी गरेका हुन् । तर निवेदन दिएको डेढ वर्ष हुँदा पनि राहत नपाएपछि अब राहत पाउने आशा हराउँदै गएको मदाने गाउँपालिका –४ कुसुम बस्तीका किसान लालबाहदुर घर्तीले बताउनुभयो ।











