मकालु हिमाल आरोहणको ७० वर्ष पुरा

मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको छ । विश्वको पाँचौ अग्लो हिमाल मकालु ८ हजार ४ सय ६३ मिटर रहेको छ । जुन हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पुरा भएको छ । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुको शिखरमा पुगेका थिए । उनीहरु मकालु हिमालको पश्चिम मोहडाबाट शिखर चुम्न सफल भएका थिए। प्रथम आरोही दुवै जीवित छैनन्। सर्वोच्च शिखर सगरमाथामा चुमेको ठिक दुई वर्षपछि मकालु हिमालको आरोहण सफल भएको थियो ।

यसै अवसरमा मकालु गाउँपालिकाले मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन गर्ने भएको छ । फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दक्षिण एसियाका विभिन्न मुलुकबाट साहित्यकार र कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी गराइएको हो ।

मकालु महोत्सव हुँदै गर्दा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मकालु साहित्य समाजको संयोजनमा आयोजना हुने महोत्सवले मकालुको मात्र नभई संखुवासभाको पर्यटन, सांस्कृतिक साथै साहित्यिक क्षेत्रमा टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष मनकला राईले बताउनु भयो ।

महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरु, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । उक्त कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

गत वर्ष गरिएको मकालु महोत्सवमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने संस्था र व्यक्तिहरु र हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search