ओखरबोटे बजारको फोहोर दिर्घकालिन व्यवस्थापनमा समस्या

संखुवासभाको मादी नगरपालिका वडा नं. ४ स्थित ओखरबोटे बजारको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ । ओखरबोटे बजारका करिब सय घरधुरीबाट निस्किएका फोहोर व्यवस्थापन गर्न समस्या भएको हो । मादी नगरपालिकाको केन्द्र समेत रहेको ओखरबोटे बजार समिति र वडा नं. ४ ले तत्कालका लागि बजार नजिकै फोहोर फाल्ने ठाउँ निर्धारण गरेको छ । तर थोरै जमिनका कारण उक्त स्थान पर्याप्त नभएको स्थानीय कुलमणि दाहालको भनाई छ ।

बजार व्यवस्थापन समिति र वडा नं. ४ को पहलमा महिनामा ३ पटक बजारका फोहोर संकलन हुने गरेको छ । फोहोर संकलनका लागि बजार क्षेत्रका प्रत्येक घरबाट सरसफाई शुल्क उठाउने र वडामार्फत ५० हजार रुपैंया उपलब्ध गराउँदै आएको छ । तर संकलित फोहोर व्यवस्थित गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको मादी नगर उद्योग वाणिज्य संघका अध्यक्ष यादवचन्द्र खड्काले बताउनु भयो ।

संकलित खाडलमा फालिएका फोहोर जलाउँदा नजिकैका बजारबासीलाई समस्या हुँदै आएको छ । कहिलेकाहीँ महिनौंसम्म पनि फोहोर नसड्ने र कुहिएर गनाएकाले दुगर्ध फैलने गरेको स्थानीय प्रतिमा तामाङको भनाई छ ।

नजिकै देवीथान रहेकाले समेत धार्मिक आस्था जोडिएको ठाउँलाई फोहोर फ्याक्ने ठाउँ नबनाउन स्थानीय राधादेवी दाहालको माग छ ।

ओखरबोटे बजार क्षेत्रका फोहोर व्यवस्थापनका लागि वडा तथा नगरपालिकाले दिर्घकालिन समाधान खोज्नु पर्नेछ । तत्काल डम्पिङ साइड निर्धारण नगर्ने र हाल फोहोर फ्यालिएका स्थान सुरक्षित नगर्ने हो भने स्थानीयलाई स्वास्थ्य समस्या हुने देखिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search