पाँचखपन १ का सबै विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन हुने

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं.१ अन्तर्गतका विद्यालयहरुमा अग्रेजी माध्यमबाट पढाई सुरु गर्न लागिएको छ । पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्या दिनानु दिन घट्न थालेपछी सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाई सुरु गर्न लागिएको हो ।

वडा नं. १ भित्रका ७ ओटा विद्यालय मध्ये ६ ओटा विद्यालयमा आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पढाई सुरु गरिनेछ । शिवोदय माध्यमिक विद्यालयमा २०७५ साल देखि नै अंग्रेजीबाट अध्यापन सुरु गरिएको थियो । उक्त विद्यालयको प्रगतिको आधारमा सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्न लागिएको हो ।

शिवोदय माविमा बाल कक्षा र कक्षा १ का विद्यार्थीलाई वडा अध्यक्ष टेक बहादुर बुढाथोकीको निजी खर्चमा पुस्तकसहित सम्पूर्ण शैक्षिक सामाग्री खरिद गरेर अंग्रेजी माध्यममा पढाई सुरु गरिएको थियो । हाल उक्त विद्यालयमा कक्षा ३ सम्म अंग्रेजीमा पढाई हुँदै आएको छ । अंग्रेजी माध्यमबाट पढाई सुरु भएयता निजी विद्यालयमा गएका विद्यार्थीहरु पुन उक्त विदालयमा फर्किएको र गुणस्तरीय शिक्षा प्रदान भइरहेको शिक्षक स्वागत तामाङले बताउनु भयो ।

शिवोदय माविमा गरिएको प्रयास सफल भएपछी आगामी शैक्षिक सत्रदेखि वडा सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्न शिक्षक, अविभावक र विद्यार्थीसँग छलफल अघि बढाएको वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताउनु भयो । विद्यालयमा कक्षा घटाउनु पर्ने र विद्यालय मर्ज गर्नुपर्ने बाध्यतालाई विकल्पको रुपमा अघि बढाइएको वडा अध्यक्ष बुढाथोकीले बताउनु भयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै जानु अंग्रेजी माध्यममा पढाई नहुनु मुख्य रुपमा हेरिएको छ । जसका कारण महँगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन अविभावकहरु बाध्य छन् । तर अंग्रेजी माध्यमबाट पठनपाठन सुरु हुने भएपछी विद्यार्थी संख्या बढ्ने साथै निजी विद्यालयमा अविभावकले तिर्ने आर्थिक बोझ कम हुने देखिएकाले यो कार्यक्रम प्रभावकारी हुने जालपादेवी आविका शिक्षक जीवन कुमार कालिकोटेले बताउनु भयो ।

वडा कार्यालयले चालु आर्थिक वर्षमा केही रकम विनियोजन गरेर शिक्षक, विद्यार्थीसँग जनप्रतिनिधि शैक्षिक सुधार कार्यक्रम ल्याएको हो । यस कार्यक्रमबाट विद्यालयमा छलफल साथै बाल कक्षा र कक्षा १ का विद्यार्थीहरुलाई आगामी शैक्षिक भर्नाका लागि पाठ्यपुस्तक खरिद गर्ने योजना रहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search