राजावादीको सक्रियतालाई लिएर सामाजिक सञ्जाल, सडक हुँदै संसदसम्म चर्चा

काठमाण्डौ । राजावादीहरूको सक्रियतासँगै संसददेखि सडक र चोकदेखि सामाजिक सञ्जालसम्म राजा फर्कने र रोक्ने कुराको चर्चा बढेको छ ।प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश सार्वजनिक भएलगत्तै राजावादीको सक्रियता बढेको हो । त्यसपछि राजावादी र गणतन्त्रबादीबीच आरोप–प्रत्यारोप भइरहेको छ । अझ राजावादीहरूले फागुन २५ गते काठमाण्डौमा प्रदर्शन गरेपछि त गणतन्त्रवादीहरू झस्किएका छन् ।

राजावादीको प्रदर्शनकै कारण नेकपा (माओवादी केन्द्र)ले तराई–मधेशमा आफ्नो अभियान नै रोक्यो । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ । संवादका क्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सरकार परिणाममुखी काम गर्न प्रतिबद्ध भएको बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै संसदमा पनि राजा र राजावादीको सक्रियताको विषयले स्थान पाइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा फर्काएर देखाउने चुनौती दिएको छ भने गणतन्त्रवादीहरूले विरोध गरिरहेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताउनुभयो । यस्तै प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलको यस्तै प्रवृत्तिका कारण नागरिक एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहेको बताउनुभयो ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै राजावादीहरूले आफूहरूको एजेन्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । तर सडकमा पूर्वराजाको समर्थनमा देखिएको भीडको जस कसले लिने भन्ने विषयमा राजावादीहरूबीच विवाद छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search