विश्व मुख स्वास्थ्य दिवस : दाँतको सफाइ तथा मुख स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ । आज मार्च २० तारिख । विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

यसवर्ष ‘ह्यापी माउथ इज ह्यापी माइन्ड’ नारासहित नेपालमा पनि विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । मुख स्वास्थ्य अन्य अङ्गजस्तै महत्त्वपूर्ण रहेको त्रिवि शिक्षण अस्पतालका आर्थोडेन्टल विशेषज्ञ डा।संजय गुप्ताले बताउनुभयो । मुखको हेरचाह नगर्दा गम्भीर समस्या हुन सक्ने उहाँको भनाइ छ ।

उज्यालोसँगको कुराकानीमा डा।गुप्ताले नेपालमा दाँत तथा मुखसम्बन्धी समस्या बढ्दै गइरहेको बताउनुभयो । उहाँका अनुसार अहिले दाँतमा किरा लाग्नु सामान्य बनेको छ ।

मुखको अवस्था मधुमेह, कलेजो र पाचन प्रणालीका रोगहरूको सङ्केत दिन सक्छ । त्यसैले बेवास्ता गर्दा गम्भीर रोग पहिचान गर्न ढिलो हुनसक्ने डाक्टरहरु बताउँछन् ।

बालबालिकामा चिनीजन्य खानेकुराले, युवामा अस्वस्थ खानपान तथा चुरोट गुट्खा तथा सुपारी खानाले र जेष्ठ नागरिकमा गिजाको कमजोरी तथा मुख सुक्ने समस्याले असर पुर्‍याउँछ ।

मुख सफा नगर्दा दाँतमा किरा लाग्ने, गिजामा सङ्क्रमण हुने, मुख दुर्गन्ध आउने र मुख क्यान्सरको जोखिम बढ्ने सम्भावना रहन्छ । मुख स्वस्थ राख्न रेसायुक्त खाना, हरियो सागसब्जी, फलफूल खान तथा चिनी र अम्लीय पेय पदार्थ कम र चुरोट , गुट्खा, सुपारी र रक्सी नखान डाक्टरको सुझाव छ ।

यस्तै फ्लोराइडयुक्त मञ्जनले दिनको दुई पटक ब्रस गर्न, प्रशस्त पानी पिउन, हरेक ६ महिनामा दन्त चिकित्सकसँग जाँच गराउन पनि डाक्टरहरुको सल्लाह छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search