संखुवासभाको मकालु गाउँपालिका वडा नं. ६ र १ को बिचमा रहेको आप्सुवा खोलामा झोलुङ्गे पुल मर्मत भएपछी दुवै वडाका स्थानीयलाई सहज भएको छ । वडा नं. १ र ६ का स्थानीय ओहोरदोहोर गर्ने आप्सुवा खोलाको झोलुङ्गे पुल मर्मत सम्पन्न भएको छ । गत वर्ष जेष्ठ २९ गते अविरल वर्षासंगै आएको पहिरोले मानिस आवातजावत गर्नै नसक्ने गरी पुलमा क्षति पुर्याएको थियो । पुलबाट हिड्न नसक्ने भएपछी स्थानीयले सास्ती भोग्दै आएको भीम बहादुर राईले बताउनु भयो ।
वडा नं. ६ का स्थानीयलाई गाउँपालिकाको केन्द्र आउन उक्त पुलको बाटो छिटो र नजिक भएपनि लामो समयदेखि मर्मत हुन नसक्दा २ घण्टा लामो घुमाउरो बाटो हिड्नु पर्ने बाध्यता रहेको वडा सदस्य चन्द्रध्वज राईले बताउनु भयो ।
मकालु गाउँपालिकाको आर्थिक सहयोग, पुर्वाधार विकास कार्यालय संखुवासभाद्धारा सामाग्री सहयोग र समाज विकास केन्द्र सोडेकको प्राविधिक सहयोगमा पुल मर्मतको कार्य सम्पन्न भएको वडा अध्यक्ष नरेन्द्र कुमार मेवाहाङले बताउनु भयो ।
पुल मर्मतका लागि कन्टेन्जेन्सी बाहेक ११ लाख ४० हजार ५ सय ६५ रुपैंया खर्च भएको थियो । पुल मर्मत पछी स्थानीयलाई गाउँपालिकाको केन्द्र आउन जान सहज भएको छ ।