हरेक बर्षको मार्च २४ मा अन्तराष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । टिबी रोक्न एकजुट हौं भन्ने मुल नाराका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाएको हो । यस अवसरमा मकालु गाउँपालिका स्वास्थ्य शाखाले क्षयरोगका बिरामीलाई पोषणका सामाग्री प्रदान गरेको छ । पालिका भित्रका विभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यक्रमको आयोजना गरी पोषण सामाग्री हस्तान्तरण गरिएको क्षयरोग मुक्त कार्यक्रम संयोजक राजु शाहले जानकारी दिनुभयो ।
मकालुमा नयाँ तथा पुराना ११ जना क्षयरोगका बिरामी रहेका छन् । यसअघि फागुन २४ देखि २७ गतेसम्म क्षयरोग परिक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरका क्रममा क्षयरोगका ६ जना नयाँ बिरामी पत्ता लागेको थियो । क्षयरोगीहरुको पहिचान एक्स रेद्घारा गरिएकोे हो ।
प्रतिबर्ष बिश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गर्दछ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी मर्ने तथ्याकं पनि देखिन्छ ।
नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भनें सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ ।