मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”
यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।
समाचारहरु
१. आप्सुवामा झोलुङ्गे पुल मर्मत भएपछी २ घण्टाको बाटो छोटियो
संखुवासभाको मकालु गाउँपालिका वडा नं. ६ र १ को बिचमा रहेको आप्सुवा खोलामा झोलुङ्गे पुल मर्मत भएपछी दुवै वडाका स्थानीयलाई सहज भएको छ । वडा नं. १ र ६ का स्थानीय ओहोरदोहोर गर्ने आप्सुवा खोलाको झोलुङ्गे पुल मर्मत सम्पन्न भएको छ । गत वर्ष जेष्ठ २९ गते अविरल वर्षासंगै आएको पहिरोले मानिस आवातजावत गर्नै नसक्ने गरी पुलमा क्षति पुर्याएको थियो । पुलबाट हिड्न नसक्ने भएपछी स्थानीयले सास्ती भोग्दै आएको भीम बहादुर राईले बताउनु भयो ।
वडा नं. ६ का स्थानीयलाई गाउँपालिकाको केन्द्र आउन उक्त पुलको बाटो छिटो र नजिक भएपनि लामो समयदेखि मर्मत हुन नसक्दा २ घण्टा लामो घुमाउरो बाटो हिड्नु पर्ने बाध्यता रहेको वडा सदस्य चन्द्रध्वज राईले बताउनु भयो ।
मकालु गाउँपालिकाको आर्थिक सहयोग, पुर्वाधार विकास कार्यालय संखुवासभाद्धारा सामाग्री सहयोग र समाज विकास केन्द्र सोडेकको प्राविधिक सहयोगमा पुल मर्मतको कार्य सम्पन्न भएको वडा अध्यक्ष नरेन्द्र कुमार मेवाहाङले बताउनु भयो ।
पुल मर्मतका लागि कन्टेन्जेन्सी बाहेक ११ लाख ४९ हजार ५ सय ६५ रुपैंया खर्च भएको थियो । पुल मर्मत पछी स्थानीयलाई गाउँपालिकाको केन्द्र आउन जान सहज भएको छ ।
२. अन्तराष्ट्रिय क्षयरोग दिवसमा क्षयरोगका बिरामीलाई पोषण सामाग्री हस्तान्तरण
हरेक बर्षको मार्च २४ मा अन्तराष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । टिबी रोक्न एकजुट हौं भन्ने मुल नाराका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाएको हो । यस अवसरमा मकालु गाउँपालिका स्वास्थ्य शाखाले क्षयरोगका बिरामीलाई पोषणका सामाग्री प्रदान गरेको छ । पालिका भित्रका विभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यक्रमको आयोजना गरी पोषण सामाग्री हस्तान्तरण गरिएको क्षयरोग मुक्त कार्यक्रम संयोजक राजु शाहले जानकारी दिनुभयो ।
मकालुमा नयाँ तथा पुराना ११ जना क्षयरोगका बिरामी रहेका छन् । यसअघि फागुन २४ देखि २७ गतेसम्म क्षयरोग परिक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरका क्रममा क्षयरोगका ६ जना नयाँ बिरामी पत्ता लागेको थियो । क्षयरोगीहरुको पहिचान एक्स रेद्घारा गरिएकोे हो ।
प्रतिबर्ष बिश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गर्दछ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी मर्ने तथ्याकं पनि देखिन्छ ।
नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भनें सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ ।
३. मकालुका वडाहरु पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
संखुवासभाको मकालु गाउँपालिकाका ६ ओटा वडाहरु मध्ये ४ ओटा वडाहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । वडा नं. १, २, ३ र ५ लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । वडा खोप समन्वय समितिको आयोजनामा पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । वडा नं. ४ र ६ मा केहि दिनमा नै कार्यक्रम हुने स्वास्थ्य शाखा प्रमुख छिङदोजी लामाले बताउनु भयो ।
आर्थिक वर्ष २०८१/०८२ मा पूर्ण खोप प्राप्त गर्ने १६ देखि ५९ महिनासम्मका र नियमित खोप पाइरहेका बालबालिकाहरुको तथ्यांकलाई आधार मानेर कार्यक्रम घोषणा गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य स्वमंसेविका, स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्पूर्ण वडाहरुको घोषणा कार्यक्रम सकिएपछी मकालु गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने छ ।
अन्तरवार्ता
स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर काम गर्दैछौं ।
मकालु गाउँपालिकामा ६ ओटा वडाहरु रहेका छन् । जसमध्ये वडा नं. ६ का वडा अध्यक्ष नेरन्द्र कुमार मेवाहाङसँग सहकर्मी मेघराज तामाङले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
१. अध्यक्ष ज्यू यहाँलाई हार्दिक स्वागत छ ।
धन्यबाद
२. मकालु गाउँपालिका वडा नं ६ को वडा अध्यक्ष हुनुहुन्छ, निवार्चित भएर आएपछि जनताको सेवालाई कसरी प्रवाह गरिरहनु भएको छ ?
सेवाको रुपमा सदाझैँ हामिले जनताहरुको गुनासोहरुलाई लिएर र विकासको कुराहरु लिएर र विभिन्न क्षेत्रहरुबाट आएका समस्याहरुलाई लिएर आआफ्नो टोलबाट उठेका प्रश्नहरुलाई आफ्नो वडाको समस्याहरुलाई भएसम्म नितिनियमले दिएसम्म कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ । हुनत धेरै समस्याहरु छन्, गुनासोहरु छन् । सबै त पुरा गर्न नसकँुला र मेरो क्षमताले र मेरो हैसियतले भ्याएसम्म नितिले दिएसम्म पुरा गर्ने गरेको छु ।
३. अघिल्लो कार्यपालिका सदस्य हुनुहुन्थ्यो, पछाडी वडा अध्यक्ष भइसकेपछि कार्यपालिका सदस्य र वडा अध्यक्ष हुँदाखेरी नेतृत्व गर्दा केमा सहज केमा असहज हँदो रहेछ ?
मेरो लागि चाहिँ मैले गर्नुपर्ने कामहरुमा, विकासका कामहरुमा मलाई धेरै नै टेवा पुगेको छ । किनभने म कार्यपालिका सदस्य हुँदाखेरी कार्यनिति निमार्ण गर्न, विकास गर्न अगाडि नै मैले अनुभब बटुलेको हुँदा काम गर्नलाई सहज भएको हो । र अर्काे कुरा चाहिँ गाउँको विकासको निम्ति गाउँको समस्याहरुको निम्ति कहाँ समस्या छ ? र कहाँ विकास गर्नुपर्ने ? र गरिराखेका अधुरा विकासहरु पनि मैले पुरा गर्ने अवसर मिलेको छ र सहज पनि भएको छ । त्यहिँ कामहरुलाई अधुरा विकासहरुलाई प्राथमिकता दिएर काम गरिरहेको छु ।
४. अहिले यो चालु आर्थिक वर्षमा वडा नं. ६ सम्म जानको लागि सहजता छ ?
मैले अघि पनि भनेँ, मैले यो गरँे त्यो गरेँ भन्दा पनि एक खाल्को छड्के रुपले कुनै जनताहरुलाई, त्यहाँको सेवाग्राही, उपभोक्ताहरुलाई सोध्नु भयो भने प्रस्ट हुन्छ । जहाँसम्म मलाई लाग्छ, हजुरको यहिँ सञ्चारमाध्यमबाट म जानकारी गराउन चाहन्छु । मैले बोलेको हजुरले नै देख्नु भएको कुरा हो, केन्द्रिय विद्युत हाम्रोमा थिएन । जब म आएपछि र मलाई मेरो जनता ६ नं. बासीले साथ दिएपछि वहाँहरुको योगदान, वहाँहरुको परिश्रम, मेहनत श्रमदानको साथ जुन अहिले ६ नं. वडाका जुनसुकै टोलमा एकान्तकुनामा भएको घरमा पनि बत्ती पु¥याउन सफल भएका छाँै । विशेष गरी म ६ नं. बासी जनताहरुलाई धन्यवाद दिन चाहन्छु । काम गरेको हकमा स्थानीयहरुको ज्यालादार भुक्तानी ठेकेदारले नगरेतापनि त्यहाँको जनताहरु चाहिँ उत्साहित भएर बत्तीको लागि ज्यान दिएर, मरिमेटेर खट्नु भयो । र हामि सबै खटियौं । त्यसको परिश्रमको फल चाहिँ अहिले हामिले लिई राखेका छौँ ।
५. अर्थात वडा नम्बर ६ को सबै घरधुरीमा बत्ती बलिसक्यो ?
अहिले बाल्न इच्छुक हुनेहरुलाई प्रत्येक घरधुरीमा बत्ती पुगेको छ । जति जनाले मिटर जडान गर्नुभयो । जस्ले मिटर जडान गर्नु भएको छैन, उहाँहरुको बाँकि नै छ । वहाँहरुले पनि गर्नु हुनेछ र यदि चासो गर्नुभयो भने बत्ती बाल्न सक्नु हुनेछ ।
६. बत्ती बाल्ने घर संख्या सरदर कति हो ?
सरदर अब मैले हिजो विद्युत प्राधिकरणसँग कार्यालयमा बुझ्दा र मैले सिफारिस गरेको हेर्दाखेरी जम्मा ३ सय ९ घरको घर संख्याको हिसाबमा अहिले १ सय ५६ घर चाहिँ मिटर आईसकेको बुझिन्छ । किनभने वडाको सिफारिसको डाटा हेर्दा र प्राधिकरणले रिडीङ गर्ने क्रममा आउँदा खेरी भनेको मिटर दिएको सर्बेक्षणमा त्यसरी देखिन्छ । १ सय ५६ घरले चाहिँ मिटर ल्याई सकेको देखिन्छ अरु चाहिँ ल्याउन बाँकि छ ।
७. वडा नं. ६ मा यो आर्थिक वर्षमा के कति योजनाहरु छन् र तिनको कार्य प्रगति चाहिँ कस्तो छ ?
साह्रै राम्रो प्रश्न गर्नुभयो । मकालु गाउँपालिकाबाट विभिन्न शिर्षकगत विनियोजित रकमहरु मध्येबाट मैले जम्मा कार्यक्रम बाहेक पुर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकासमा बनाएको कार्यक्रमहरु छन् । ती मध्येमा १७ वटा कार्यक्रम बनाएका छौँ । त्यो कार्यक्रम मध्येबाट हालसम्म ५ वटा योजना चाहिँ फरफारक भइसकेको छ । जो हामिले कार्यपालिकाको निणर्य अनुसार हामिले त्रैमासिक कार्यक्रम बनाउने भन्ने निणर्य बनाएका थियौँ । अरु वडाले कार्यक्रम त्रैमासिक बनायो बनाएन जानकारी भएन तर मेरो वडाको हकमा पहिलो प्रयास त्रैमासिक कार्यक्रम बनाएका थियौँ ।
त्यस मध्येमा ५ वटा योजना पहिलो त्रैमासिकमा परेको थियो । तिनीहरुको काम सकिएर पनि भुक्तानी भइसकेको छ । दोस्रो त्रैमासिकको लागि ७ वटा कार्यक्रम चाहिँ हामिले बनाएका थियौँ । त्यो अहिले काम भइरहेको छ । लगभग १०/१५ दिनमा त्यो काम सम्पन्न हुन्छ भन्ने आशा छ । अन्तिम चरणमा पुगिसकेको छ । र तेस्रो त्रैमासिकको कार्यक्रम चाहिँ सम्झौता भइसकेको छ । काम सुरु भएको छैन । यी काम चाहिँ दोस्रो त्रैमासिकको काम सम्पन्न हुन्छ । त्यस लगतै हामि तेस्रो त्रैमासिकको कार्यक्रम पनि अघि बढाउने छौँ । समिति गठन र सम्झौता चाहिँ भइसकसेको छ । हाम्रा समितिहरु, हाम्रा उपभोक्ताहरु एकदम जोस र जागरका साथ लागि परेका छन् ।
८. हवस् यहाँलाई समय र सम्वादको लागि धन्यवाद ।
धन्यवाद ।
विज्ञापनहरु
१.
मकालु गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाई हुने सम्बन्धी सूचना ।
चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार यस मकालु गाउँपालिका वडा नं. ६ मा सञ्चालित पुर्वाधार योजना, कार्यक्रम तथा यस कार्यालयद्वारा सेवा प्रबाहको गुणस्तरीयताको सम्बन्धमा तपशिलको मिति, समय र स्थानमा अर्धबार्षिक सार्वजनिक सुनुवाई हुने भएकोले राजनितिक दलका प्रतिनिधी, नागरिक अगुवा, संघ संस्थाका प्रतिनिधी, उपभोक्ता समितिका पदाधिकारीहरु, टोल विकास संस्थाका संयोजक तथा सदस्यहरु लगायत सरोकारवाला सबैमा सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ ।
मिति : २०८१ चैत्र २२ गते
समय : बिहान ११ बजे
स्थान : मकालु गाउँपालिका वडा नं. ६ को कार्यालय छोयाङ, डाँडा गाउँ
आयोजक
मकालु गाउँपालिका वडा नं. ६ को कार्यालय छोयाङ, डाँडा गाउँ
यस अंकमा प्रकाशित सामाग्रीहरु संखुवासभा साप्ताहिक, हेर्ने चित्र युट्युव, फेसबुक पेज र मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।