काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डौको बल्खुमा शक्ति प्रदर्शन र आमसभा गरेको छ । राप्रपाले विभिन्न ठाउँबाट निकालेको र्याली बल्खुमा पुगेर आमसभामा परिणत भएको छ ।
आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । राजसंस्था पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले आज सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।
प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।
बल्खुमा राप्रपाले प्रदर्शन गर्ने भएपछि व्यापारीहरूले पसलको शटर बन्द गरेका छन् । यसअघि तीनकुनेमा लुटपाट र आगजनी भएपछि त्यसको डरले बल्खुमा व्यापारीहरूले शटर बन्द गरेका हुन् ।