मकालु गाउँपालिकाका याम्फू किराँत समुदायले इक्साम्माङ अर्थात् बाली पुजा गर्दै आएका छन् । हरेक वर्ष यो समुदायले उक्त पुजा सामुहिक रुपमा गर्दै आएका छन् । यस वर्ष पनि उक्त समुदायले मकालुका विभिन्न वडाका टोलहरुमा इक्साम्माङ भव्यताकासाथ मनाएका छन् । याम्फू समुदायमा अन्नबाली लगाइसके पश्चात् उभौलीको समयमा यो पुजा गर्ने गरिन्छ ।
इकको अर्थ खोरिया र साम्माङको अर्थ पुजा वा भोज भन्ने रहेको वडा नं. ३ का बिरेन्द्र खाराले जानकारी दिनुभयो । पछिल्लो समय यो पुजा गर्ने क्रममा विभिन्न समस्या तथा विकृतिहरुसमेत हुने गरेकाले टोल टोलमा पुजा गर्ने गरिएको हो । यो पुजा चैत महिना सुरु भएयता अन्यसम्ममा गर्ने प्रचलन छ । विशेष गरी शनिबार र मंगलबारको अवसर पारेर पुजा गर्ने चलन रहेको वडा नं. ३ गोलेचौरका बिन्द्र कुमार राईले बताउनु भयो ।
विभिन्न टोलबाट पुजाका सामग्री साथै पुख्र्यौली परम्परा अनुसार ढोल, झ्याम्टा र पुजाका प्रसाद तथा सगुनहरु लिएर पुजा स्थलमा स्थानीयहरु सहभागी हुने गर्दछन् । किराँत समुदायको बाहुल्यता रहेको मकालु गाउँपालिकामा गाउँपालिका कार्यालयले स्थानीय बिदासमेत दिएको थियो । याम्फू किराँत समुदायले बाली पुजालाई स्थानीय पर्वको रुपमा मनाउँदै आएकाले विदा दिने गरिएको मकालु ३ का वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।