मकालु गाउँपालिकाको वडा नं. १ र ६ जोड्ने आप्सुवा खोलामा मोटरेबल पुल नहुँदा आवातजावतमा समस्या हुँदै आएको छ । वडा नं. ६ का स्थानीयलाई गाउँपालिकाको केन्द्र नुम बजार आउन वैकल्पिक मार्ग नभएकाले खोलाबाट जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रहेको छ । यस्तै वडा नं.१ र ६ का स्थानीयलाई एकदेखि अर्काे वडा जान आउन पैदलमार्ग प्रयोग गरि झोलुङ्गे पुल तर्नुपर्ने हुन्छ । वडा नं. ६ को मुख्य प्रवेश मार्गको रुपमा रहेको आप्सुवामा पुल अभावकै कारण गाउँसम्म आएको सडकको स्थानीयले उपभोग गर्न पाएका छैनन् ।
हिउँदमा जसोतसो वडा नं. ६ डाँडा गाउँसम्म सवारीसाधन आवतजावत गर्न सकिन्छ भने बर्खायाम सुरु भएसंगै मोटरेबल पुल अभावकै कारण गाउँपालिका र वडाबिच यातायात सम्बन्ध टुट्ने गर्दछ । उक्त समयमा वडा नं. ६ का स्थानीय कुनै विपत्ती परे वा उपचार गर्न सुविधा सम्पन्न अस्पतालसम्म लैजान एम्बुलेन्स सेवा लिनबाट यहाँका स्थानीयहरु बञ्चित हुने गरेका छन् ।
खोलामा पुल नभएकै कारण दुई पांग्रे साधन वा मोटरसाईकल तार्न डोजरको सहयोग लिनुपर्ने स्थानीयहरु बताउँछन् । तर बर्खायामको समयमा कच्ची सडकका कारण सवारी साधन ओहोरदोहोर गर्न कठिन हुने भएकाले पनि वडा नं. ६ का स्थानीय यातायात सेवाबाट बञ्चित हुने गरेका छन् ।
वडा नंं. ६ का वडा अध्यक्ष नरेन्द्र कुमार मेवाहाङका अनुसार पुल निर्माणका लागि योजना माग गरिएको भएपनि नजिकै हाइड्रो निर्माण भईरहेकाले नेपाल सरकारमार्फत उक्त स्थानमा योजना आउन नसकेको हो । त्यसैले सो स्थानमा पुल निर्माण गर्नका लागि हाइड्रो कम्पनीसंग समन्वय भइरहेको वडा अध्यक्ष मेवाहाङले बताउनु भयो । यहाँ नजिकै इप्सुवा क्यास्केट १० मेगावाट क्षमताको हाइड्रो निर्माण भइरहेको छ । उक्त पुल बन्ने स्थान हुँदै वडा नं. ६ सम्म जाने सडक हाइड्रोले मुख्य मार्गको रुपमा प्रयोग गर्दै आएको छ । पुल निर्माण गर्नका लागि प्रयोग हुने जग्गासमेत हाइड्रोबाट प्रभावित क्षेत्र हो ।