विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बिहान पौने १२ बजे विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको ईलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

डाइभर्सन बगाएपछि चार सय मिटर बाटो वारपार गर्न २५ किलोमिटर घुमाउरो वैकल्पिक बाटो मात्रै प्रयोग गर्न मिल्ने उहाँले बताउनुभयो । अत्यावश्यक गाडीलाई होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्कीबासतर्फ बाटो प्रयोग गर्न भनिएको छ ।

वैकल्पिक बाटोमा लामो र साना गाडीमात्र जान सक्ने स्थिति रहेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । खोला बढेका कारण तत्काल डाइभर्सन बनाउन सम्भव नरहेको प्रहरीले जनाएको छ । गत पुसमा भारतीय ट्रकको ठक्करबाट यो खोलाको पुल भाँचिएको थियो । पुल भाँचिएपछि डाइभर्सन बनाएर गाडी आवतजावत गराइएको थियो ।

यसैबीच अस्ति राति वर्षाका कारण दाउन्ने खण्ड पूर्णरूपमा बन्द हुँदा २० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो । यो सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी रोकेर मर्मतको काम भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search