मकालु ३ मा अरुण तेस्रोका कारण ६ घर उच्च जोखिममा

संखुवासभा । मकालु गाउँपालिका वडा नं. ३ मा नयाँ बस्तीका ६ घर उच्च जोखिममा रहेको छ । ९ सय मेगावाट क्षमताको निर्माणाधिन अरुण तेस्रोका कारण नयाँ बस्ती जोखिममा परेको हो । वडा नं. ५ र ३ को बिचमा पर्ने फ्याक्सिन्दामा अरुण तेस्रोको बाँध स्थल निर्माण भइरहेको छ । जसका कारण नजिकै रहेको नयाँ बस्ती जोखिममा परेको हो ।

अरुण तेस्रोले नदी कटान र डाइभर्सन गरेपछी नजिकैको बस्ती चिरा पर्न थालेको छ । हरेक बर्खायाममा जमिन चिरा परेर पहिरोको उच्च जोखिममा छन् नयाँ बस्ती । सुरुङ मार्ग निर्माणका लागि गरिएका विष्फोट र ब्लास्टिङले गर्दा जमिन कम्जोर बन्दै गएपछी बर्खायाम सुरु भएपछी धाँजा फाट्ने गरेको उपेन्द्र राईले बताउनु भयो ।

२०७७ साल देखि पहिरो जान थालेपछी तत्कालिन समयमा नै भुगर्वविदहरुको अनुसन्धानसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाए पनि हालसम्म कुनैपनि प्रक्रिया अघि नबढेको पृथीमान राईले बताउनु भयो । बर्खायाम लागेसंगै पहिरो जाने र धाँजा फाट्ने गरेकाले कुनबेला बिपत्ति आउने हो, टुंगो नभएको रुकमान राईले बताउनु भयो ।

नदीबाट केही माथिसम्म अरुण तेस्रोले अधिग्रहण गर्ने गरी सिमा निर्धारण गरेको छ । निर्धारित जग्गाधनीहरुलाई मुआब्जासमेत वितरण गरीसकेको छ । तर सो स्थान भन्दा करिब ८ सय मिटर माथिसम्म आयोजनाका कारण असर पुगेको छ । क्षति पुगेका स्थानीयले भने हालसम्म आयोजनाबाट क्षतिपुर्ति तथा मुआब्जा पाउन नसकेको लोक बहादुर राईले बताउनु भयो ।

अरुण तेस्रोले आयोजना सम्पन्न गर्नै लाग्दासमेत प्रभावित परिवारलाई राहत तथा क्षतिपुर्ति दिन आलटाल गरिरहेको छ । घर जग्गा नै जोखिममा परेपछी उठिबास लाग्ने चिन्ता स्थानीयलाई रहेको लिला बहादुर राईले बताउनु भयो ।

स्थानीयलाई क्षति पुगेको र उचित क्षतिपुर्तिको पटकपटक माग गर्दा पनि सुनुवाई नहुने गरेको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।

अरुण तेस्रो आयोजनाबाट प्रभावित भएकाहरुले क्षतिपुर्ति नपाउने साथै गरिएका मागहरुको सुनुवाई नहुने यो नौलो विषय होइन । क्षतिपुर्तिको माग गर्दै प्रभावित जनताले पटकपटक आन्दोलन गर्नुपरेको ताजा घटनाहरु छन् । निर्माण सम्पन्न हुनै लाग्दा आयोजनाले स्थानीय प्रभावितलाई दिनुपर्ने क्षतिपुर्ति तथा राहतका लागि सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search