विश्वको पाँचौं अग्लो मकालु हिमाल आराही किपा लामु शेर्पालाई सम्मान गरिएको छ । संखुवासभाको मकालु गाउँपालिका वडा नं. २, पत्रकार महासंघ संखुवासभा र प्रेस चौतारी संखुवासभाले शेर्पालाई खाँदबारीमा सम्मान गरेको हो ।
वहाँलाई मकालु हिमालको सफल आरोहण गर्ने महिलाहरु मध्ये सबै भन्दा कम उमेरमा आरोहण गर्ने कान्छो आरोहीको रुपमा सम्मान गरिएको हो । शेर्पाले मकालु हिमाल (८,४८५ मि.) को गत २०८१ चैत्र २८ गते बिहान १० बजेर १० मिनेटमा सफल आरोहण गर्नुभएको थियो ।मकालु गाउँपालिका वडा नं. २ स्थित नुर्बु गाउँमा जन्मनु भएका शेर्पाले २८ वर्षको उमेरमा मकालु हिमालको सफल आरोहण गर्नु भएको थियो ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेल, प्रहरी नायव उपरिक्षक दक्ष कुमार वस्नेत, मकालु गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष छोपाल शेर्पा लगायत राजनितिक दल र सञ्चारकर्मीहरुको उपस्थितिमा सम्मानपत्रद्धारा सम्मानित गरिएको हो । ‘सानै देखी दुःखसँग लड्दै चौरी गोठमा हुर्केकी शेर्पाले मकालु हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो उमेरको महिला बनेकोमा गर्व महसुस भएको वडा अध्यक्ष शेर्पाले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि शाक्यले हिमाल आरोहण एउटी महिलाको लागि चानचुने विषय नभएको बताउनु भयो । वहाँले यस्ता शाहसी महिलालाई राज्यलेसमेत हौसला र सम्मान गर्नुपर्ने धारणा राख्दै आवश्यक सहयोगको लागि सम्बन्धित निकायहरुमा सिफारिस गर्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रमुख जिल््ला अधिकारी पोख्रेलले नेपालको पर्यटन प्रवर्धनका लागि आरोही किपा लामु शेर्पाले गरेको सफल आरोहणले ठुलो अर्थ राख्ने बताउनु भयो । कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर श्रेष्ठ बज्राचार्यले आधा आकाश ढाक्ने महिलाहरु चुल्होचौकामा मात्रै सिमित नभएर शारिरिक रुपमासमेत अब्बल भएको धारणा राख्नु भयो ।
राजनैतिक दलकातर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राईले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी पर्यटन वर्ष–२०८२’ लाई शेर्पाको सफल आरोहणले ठुलो टेवा पुगेको बताउनु भयो । नेपाली कांग्रेसका क्षेत्रिय सभापति दिपेन्द्रमान शाक्य र रास्वपाका जिल्ला संयोजक भक्तनारायण श्रेष्ठले महिलाहरु पुरुष भन्दा कम नरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सह आयोजक नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य र प्रेस चौतारीका अध्यक्ष जनक चापागाईले किपा लामु जस्ता साहशी आरोहिहरुले संखुवासभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाईरहेकाले उनिहरुलाई थप प्रोत्साहनका लागि राज्यले विशेष योजना अघि सार्नु पर्ने सुझाव दिनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आरोही शेर्पाले यो सम्मानका लागि मकालु २ नं. वडा, नेपाल पत्रकार महासंघ र प्रेस चौतारी संखुवासभालाई धन्यबाद ज्ञापन गर्नुभयो ।