काठमाडौं । नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको टिप्पणी गरेकी छिन् ।
राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।चौधरीले शिवसेना नेपालको तर्फबाट सो सभालाई सम्बोधन गरेकी थिइन् ।
उनी एमाले परित्याग गरेर शिवसेना नेपाल अभियानमा संलग्न भएकी थिइन् । पछिल्लो समय उनी राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिमा सक्रिय भएकी छिन् ।सोही क्रममा सोमबार भृकुटिमण्डपमा आयोजना भएको सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो, त्यतिखेर त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद बगिसकेको छ ।’
उनले सम्बोधनको क्रममा प्रहरी परिवारकै भएका कारण माओवादी जनयुद्धको बेलामा आफ्नो ससुराले ज्यान गुमाएको भन्दै उक्त घटना बिर्सन नसक्ने बताइन् ।
‘म भन्न चाहन्छु, म एउटा प्रहरी परिवारकै भएका कारणले मेरो ससुरालाई माओवादीले तीन टुक्रा पारेर मारे । म यो बिर्सन सक्छु,’ उनले भनिन्, ‘के म यो बिर्सन सक्छु ? त्यसकारण अब राजसंस्था पुनरस्थापना नभइ राष्ट्रको भलो हुँदैन । देश जोगिँदैन ।’
देश जोगाउने हो भने सबैले स्वार्थ छाडेर राष्ट्रको झण्डामुनि उभिनुपर्ने उनको तर्क थियो ।