भारत सरकारले अबको जनगणनामा जातजातिको पनि गणना गर्ने तयारी गरेको छ । यसलाई झन्डै एक सय वर्षपछि हुन लागेको ऐतिहासिक गणना समेत भनिएको छ ।
केन्द्रीय मन्त्री अश्विनी वैष्णवले हिजोको राजनीतिक मामिला समितिको बैठकमा सरकारले गरेको यो निर्णयबारेमा जानकारी गराउनुभएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले जनगणनासँगै जातिको गणना पनि गरिने बताउनुभयो ।
वैष्णवले जनगणना एक केन्द्रीय विषय भएको र अहिलेसम्म केही राज्यहरूमा गरिएको जात सर्वेक्षण पारदर्शी नभएको समेत बताउनुभयो ।
कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता दललगायत धेरै विपक्षी दलहरूले देशमा जातीय जनगणनाको माग निरन्तर गरिरहेका छन् ।
भारतको जनगणनामा संविधानमा सूचीकृत दलित र आदिवासीको मात्र गणना हुने गरेको छ । तर अन्य जातिको जनगणना सन् १९३१ देखि भएको छैन ।
भारत सरकारले आउँदो सेप्टेम्बर महिनादेखि जनगणनाको प्रक्रिया शुरू गर्ने तयारी गरेको छ । जनगणना सम्पन्न गर्न १८ महिना लाग्ने र त्यसको नतिजा सन् २०२६ मा सार्वजनिक हुने प्रारम्भिक अनुमान छ ।