काठमाण्डौ । हिजो पार्टी एकीकरण घोषणा स्थलबाटै रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित भएको छ । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको अनधिकृत पत्रपछि पक्राउ परेका चौधरी हिजै रिहा भए पनि दुई पार्टीबीचको एकता भने अनिश्चित बनेको हो ।
चौधरी पक्राउ परेको घटनाको समीक्षा गरेपछि मात्रै एकता घोषणाको मिति तय हुने नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले बताउनुभयो । हिजो चौधरी छुटेपछि भएको छलफलले एकीकरण घोषणा हुनै लाग्दा भएको घटनालाई सामान्य रूपमा लिन नसकिने भएकोले त्यसलाई थप समीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको उहाँले बताउनुभयो । राज्यशक्ति नै एकता भाँड्ने अभियानमा लागिरहेको उनीहरूले दाबी गरेका छन् ।
संरक्षक रेशम चौधरी रिहा भएपछि हिजो बेलुका नागरिक उन्मुक्ति पार्टीका उपलब्ध नेताहरूको बैठक बसेको थियो । मधेश अलग देश हुनुपर्ने भन्दै स्वराज अभियान चलाइरहेका सीके राउतले २०७५ साल फागुन २४ गते ११ बुँदे सम्झौता गरी देशको अखण्डता स्वीकार गर्दै जनमत पार्टी दर्ता गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टी थरूहट आन्दोलनबाट उदाएको शक्ति हो ।
दुई दलबीच एकताको आधारभूत कुरा यसअघि नै टुङ्गो लागिसकेको छ । यी दुई पार्टीबीच एकता भएपछि प्रतिनिधिसभामा १० सांसद हुनेछन् जुन शक्ति मधेशी दलहरूमध्ये सबैभन्दा ठूलो हुनेछ ।