“मकालु सन्देश” विशेषांक – ०७

मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”

यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।

समाचारहरु

१. हेदाङना डिल्ली प्रसाद रंगशाला निर्माण गर्न सहयोगको याचना
मकालु गाउँपालिका वडा नं. ३ को हेङ्खुवामा “हेदाङना डिल्ली प्रसाद रंगशाला” आर्थिक अभावका कारण थलिएको छ । विगत ५/६ वर्ष अघि देखि निर्माण सुरु गरिएको उक्त रंगशाला निर्माण चरणमा भएपनि आर्थिक स्रोतको अनिश्चितताका कारण रोकिएको छ । रंगशाला निर्माणका लागि स्थानीय डिल्ली प्रसाद राईको नाममा करिब १५ रोपनी जग्गा न्युनतम् मुल्यमा उपलब्ध गराएका छन् । तर उपलब्ध गराइएका जग्गालाई सम्याउन र वालहरु निर्माण गर्न बजेट अभाव भएको छ ।

विगतमा उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकारमार्फत २० लाख रुपैंया, मकालु गाउँपालिकाबाट ५ लाख रुपैंया र चालु आर्थिक वर्षमा पनि २१ लाख रुपैंया उपलब्ध भएको छ । प्राप्त बजेटहरुबाट संरचना निर्माणका कार्यहरु भइरहेको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।

आर्थिक सहयोग जुटाउन गत फागुन ३ गते वडाबासीहरुको आम भेला बसी रकम संकलन गरि समस्याको समाधान गर्ने निर्णय पारित गरिएको छ । जसका लागि सम्पूर्ण वडाबासी, गाउँपालिकाबासी तथा देश विदेशमा रहनु हुने सम्पूर्ण महानुभावहरुमा सहयोग गर्न अपिल गरिएको छ ।
तत्कालका करिब २० लाख रुपैंया रकम अभाव भएको वडा अध्यक्ष राईले बताउनु भयो । रंगशाला निर्माण अभियानमा सहयोग गर्ने दाताहरुलाई विभिन्न १० शिर्षकमा सम्मान गरिने जनाइएको छ । २ हजारसम्म सहयोग गर्ने व्यक्तिको नाम व्यानरमा उल्लेख गरिने छ । यस्तै २ देखि ४ हजारसम्म सहयोग गर्ने व्यक्तिको नाम होडिङ बोर्डमा उल्लेख गरिने छ । ४ देखि १० हजारसम्म सहयोग गर्ने १ जनाको शिलालेखमा नाम उल्लेख गरिने छ ।

 

यसैगरी १० देखि १५ हजारसम्म सहयोग गर्ने १ जनाको नाम शिलालेखमा उल्लेख गरि प्रमाण पत्र प्रदान गरिने छ । १५ देखि २० हजारसम्म सहयोग गर्ने १ जनाको नाम शिलालेखमा उल्लेख गरि सम्मान पत्र प्रदान गरिने छ । यस्तै २० देखि २५ हजारसम्म सहयोग गर्ने २ पुस्ताको नाम शिलालेखमा उल्लेख गरि सम्मान पत्र प्रदान गरिने छ ।

यसैगरी २५ देखि ३० हजारसम्म सहयोग गर्ने ३ पुस्ताको नाम शिलालेखमा उल्लेख गरि सम्मान पत्र प्रदान गरिने छ । ३० देखि.५० हजारसम्म सहयोग गर्ने श्रीमान्/श्रीमतीको नामसहित ३ पुस्ताको नाम शिलालेखमा उल्लेख गरि सुनौलो फ्रेमसहितको सम्मान पत्र प्रदान गरिने छ ।

यस्तै ५० देखि १ लाखसम्म सहयोग गर्ने ३ पुस्ताको नाम शिलालेखमा उल्लेख गरि, सुनौलो फ्रेमसहितको सम्मान पत्र साथै २ जनालाई दोसल्ला ओढाई सम्मान गरिने छ । १ लाख देखि माथि सहयोग गर्नेको स–परिवारको नाम शिलालेखमा उल्लेख गरि सुनौलो फ्रेमसहितको सम्मान पत्र साथै श्रीमान् श्रीमतीलाई दोसल्ला ओढाई सम्मान गरिने जनाइएको छ ।

२. आप्सुवा खोलामा मोटरेबल पुल नहुँदा समस्या
मकालु गाउँपालिकाको वडा नं. १ र ६ जोड्ने आप्सुवा खोलामा मोटरेबल पुल नहुँदा आवातजावतमा समस्या हुँदै आएको छ । वडा नं. ६ का स्थानीयलाई गाउँपालिकाको केन्द्र नुम बजार आउन वैकल्पिक मार्ग नभएकाले खोलाबाट जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रहेको छ । यस्तै वडा नं.१ र ६ का स्थानीयलाई एकदेखि अर्काे वडा जान आउन पैदलमार्ग प्रयोग गरि झोलुङ्गे पुल तर्नुपर्ने हुन्छ । वडा नं. ६ को मुख्य प्रवेश मार्गको रुपमा रहेको आप्सुवामा पुल अभावकै कारण गाउँसम्म आएको सडकको स्थानीयले उपभोग गर्न पाएका छैनन् ।

हिउँदमा जसोतसो वडा नं. ६ डाँडा गाउँसम्म सवारीसाधन आवतजावत गर्न सकिन्छ भने बर्खायाम सुरु भएसंगै मोटरेबल पुल अभावकै कारण गाउँपालिका र वडाबिच यातायात सम्बन्ध टुट्ने गर्दछ । उक्त समयमा वडा नं. ६ का स्थानीय कुनै विपत्ती परे वा उपचार गर्न सुविधा सम्पन्न अस्पतालसम्म लैजान एम्बुलेन्स सेवा लिनबाट यहाँका स्थानीयहरु बञ्चित हुने गरेका छन् ।

खोलामा पुल नभएकै कारण दुई पांग्रे साधन वा मोटरसाईकल तार्न डोजरको सहयोग लिनुपर्ने स्थानीयहरु बताउँछन् । तर बर्खायामको समयमा कच्ची सडकका कारण सवारी साधन ओहोरदोहोर गर्न कठिन हुने भएकाले पनि वडा नं. ६ का स्थानीय यातायात सेवाबाट बञ्चित हुने गरेका छन् ।

वडा नंं. ६ का वडा अध्यक्ष नरेन्द्र कुमार मेवाहाङका अनुसार पुल निर्माणका लागि योजना माग गरिएको भएपनि नजिकै हाइड्रो निर्माण भईरहेकाले नेपाल सरकारमार्फत उक्त स्थानमा योजना आउन नसकेको हो । त्यसैले सो स्थानमा पुल निर्माण गर्नका लागि हाइड्रो कम्पनीसंग समन्वय भइरहेको वडा अध्यक्ष मेवाहाङले बताउनु भयो । यहाँ नजिकै इप्सुवा क्यास्केट १० मेगावाट क्षमताको हाइड्रो निर्माण भइरहेको छ । उक्त पुल बन्ने स्थान हुँदै वडा नं. ६ सम्म जाने सडक हाइड्रोले मुख्य मार्गको रुपमा प्रयोग गर्दै आएको छ । पुल निर्माण गर्नका लागि प्रयोग हुने जग्गासमेत हाइड्रोबाट प्रभावित क्षेत्र हो ।

३. मकालु ३ मा एकै चट्याङले १७ चौपाय मरे
आइतबार हावाहुरीसहित परेको चट्याङले मकालु गाउँपालिका वडा नं. ३ मा १७ ओटा चौपाय मरेका छन् । कालोपातल खर्कमा रहेको ३ परिवारका १७ ओटा गाई, गोरु र भैंसी चट्याङमा परी मरेको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।

साँझतिर परेको चट्याङले पुस्पलाल भण्डारी र प्रेमनाथ भण्डारीको ११ ओटा भैसी र ४ ओटा गाई, गोरु मरेको हो । यस्तै कृष्ण बहादुर राईको २ ओटा गाई र गोरु मरेको वडा अध्यक्ष राईले बताउनु भयो । खर्कमा राखिएका चौपाय हावाहुरीसहित पानी परेकाले एकै ठाउँमा जम्मा भएर बसेको बेला चट्याङ परेको बताइएको छ ।

४. मकालु हिमाल आरोही किपालामु शेर्पा सम्मानित

विश्वको पाँचौं अग्लो मकालु हिमाल आराही किपा लामु शेर्पालाई सम्मान गरिएको छ । संखुवासभाको मकालु गाउँपालिका वडा नं. २, पत्रकार महासंघ संखुवासभा र प्रेस चौतारी संखुवासभाले शेर्पालाई खाँदबारीमा सम्मान गरेको हो ।

वहाँलाई मकालु हिमालको सफल आरोहण गर्ने महिलाहरु मध्ये सबै भन्दा कम उमेरमा आरोहण गर्ने कान्छो आरोहीको रुपमा सम्मान गरिएको हो । शेर्पाले मकालु हिमाल (८,४८५ मि.) को गत २०८१ चैत्र २८ गते बिहान १० बजेर १० मिनेटमा सफल आरोहण गर्नुभएको थियो । मकालु गाउँपालिका वडा नं. २ स्थित नुर्बु गाउँमा जन्मनु भएका शेर्पाले २८ वर्षको उमेरमा मकालु हिमालको सफल आरोहण गर्नु भएको थियो ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेल, प्रहरी नायव उपरिक्षक दक्ष कुमार वस्नेत, मकालु गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष छोपाल शेर्पा लगायत राजनितिक दल र सञ्चारकर्मीहरुको उपस्थितिमा सम्मानपत्रद्धारा सम्मानित गरिएको हो ।

५. हेदाङ्ना गढीको संरक्षण गरिदै
मकालु गाउँपालिका वडा नं. ३ मा रहेको हेदाङ्ना गढीको संरक्षण तथा पुन निर्माण सुरु गरिएको छ । ऐतिहासिक हेदाङ्ना गढीको संरक्षणका लागि बंकर, सेन्ट्री लगायत युद्ध कालका झल्को दिने संरचनाहरु निर्माण गरिदै छ ।

युद्ध कालमा निर्माण भएका हेदाङ्ना गढीको भग्नावशेषहरु अझै पनि छन् । तर मानव बस्तीको विकास र अतिक्रमणले गढीको संरचनाहरु मेटिदै गएको वडा सदस्य दिल बहादुर राईले बताउनु भयो ।

पहिल्लो समय स्थानीय सरकार सञ्चालन पछी यसको ऐतिहासिक प्रमाण, खोज तथा अध्ययनका लागि प्रयासहरु भइरहेका छन् । गढीको संरक्षणका लागि वडा नं. ३ ले महत्वपूर्ण र गौरवको आयोजनाको रुपमा अघि सारेको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।

गढीका पुराना संरचना वरपर हालसम्म ३ पटक सरसफाई गरि सकिएको छ । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय, संघसंस्थाहरु र जनप्रतिनिधिको सहभागितामा सरसफाई गर्ने गरिएको छ ।

६. मकालु ४ मा खुट्टाको मसाज थेरापी शिविर सञ्चालन
मकालु गाउँपालिका वडा नं. ४ का विभिन्न टोलमा खुट्टाको मसाज थेरापी शिविर सञ्चालन भइरहेको छ । जापानको रिफ्लेक्सोलोजिस्ट मिका यागीहासीबाट प्रशिक्षण प्राप्त स्वास्थ्यकर्मीहरुबाट शिविर सञ्चालन भइरहेको पावाखोला स्वास्थ्य चौकी कारमाराङका प्रमुख सुजन गुरुङले बताउनु भयो ।

पावाखोला स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको शिविरमा वैशाख ५ र ६ गते कारमाराङ टोलका १७ जना स्थानीयले सेवा लिएका छन् । यस्तै ८ र ९ गते ओवाकका १२ जना स्थानीयले सेवा लिएका छन् ।

आगामी वैशाख १६ र १७ गते वैद्धे र सिरुटार, १८ र १९ गते रने गाउँ, पिप्ले र भैंसी खर्क, २१ र २२ गते काग्दुवा, खङ्दुवा र चसुवाटार, २३ खर २४ गते निभारे र पावा खोलामा शिविर सञ्चालन हुनेछ ।

थेरापीबाट शररिमा लाग्ने विभिन्न रोगहरुबाट बच्न तथा देखिएका लक्षणहरुलाई सुधार गर्न मद्धत गर्दछ । सेल्फ फुट केयर प्रोजेक्ट अन्तर्गत नेपाल र जापानको संयुक्त टिमले निशुल्क शिविर सञ्चालन गरेको हो ।

यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र संखुवासभा एक्सप्रेस साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search