भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग

काठमाण्डौ । प्रतिनिधिसभाको बैठकमा आज पनि सांसदहरूले भारत–पाकिस्तान तनावको कुरा उठाएका छन् । हिजोको बैठकमा सांसदहरूले भारत–पाकिस्तानबीच गोलाबारी भएको विषयलाई लिएर नेपालमा पनि सचेतता अपनाउनुपर्नेमा जोड दिएकोमा आज पनि सांसदहरूले त्यही कुरामा जोड दिएका हुन् ।

सांसद रामहरि खतिवडाले भारतले अहिले आतङ्कवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतङ्कवादविरुद्धको लडाइँमा नेपालले साथ दिनुपर्ने बताउनुभयो । सांसद मुक्ताकुमारी यादवले दुई देशबीच भइरहेको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू पर्न सक्ने भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

त्यस्तै सांसद मीना तामाङले भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सरकारसँग माग गर्नुभयो । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत–पाकिस्तान युद्धमा सरकारको धारणा माग गर्नुभयो । सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

यसैबीच नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमा लेख्दै आतङ्कवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताउनुभएको छ । भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला पूर्वमन्त्रीसमेत रहेका शर्माको यो भनाइ सार्वजनिक भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search