काठमाण्डौ । सरकारले महत्त्वाकाङ्क्षी योजना तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको हिजोको बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा सांसदहरुले नीति तथा कार्यक्रम र वार्षिक बजेटमा परेका योजनाको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका हुन ।
सांसद सुहाङ्ग नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षलाई पनि महत्त्वका साथ हेरिनुपर्ने बताउनुभयो । विगतका वर्षहरुमा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकस्तरबाट शङ्का र आलोचना उठ्नु स्वाभाविक रहेको उहाँको टिप्पणी छ ।
सांसद सुशीला थिङले जस्तोसुकै राम्रो नीति तथा कार्यक्रम ल्याए पनि प्रतिपक्षले त्यसले सधैँ विरोध गर्ने गरेको उल्लेख गर्नुभयो । राम्रोलाई राम्रो भन्नसक्ने संस्कृति विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्ने विगतको खराब अभ्यासलाई रोकिनुपर्ने उहाँको माग छ ।
सांसद रुक्मिणी राना बराइलीले विगतका नीति तथा कार्यक्रममा परेका विषयहरु किन कार्यान्वयन हुन किन सकेनन् रु भन्ने प्रश्न गर्नुभयो । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन, रुग्ण उद्योग पुनःसञ्चालन गर्ने, खानी उद्योगहरु सञ्चालन गर्ने, पूर्वाधार निर्माणमा प्राथमिकता दिने, पुँजी निर्माणमा थप सहयोग पुग्नेगरी सरकारले वार्षिक नीति तथा कार्यक्रम ल्याएको उहाँले उल्लेख गर्नुभयो ।
सांसद प्रेमबहादुर महर्जनले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नसके देशको आर्थिक, सामाजिक रुपान्तरण गर्नका लागि सहयोगीसिद्ध हुने बताउनुभयो ।