नयाँ गभर्नर नियुक्तिमा सत्तारुढ दलबीच हानथाप

काठमाण्डौ । संसददेखि विभिन्न छलफल र बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रश्न उठ्दै आएको भए पनि सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समितिको व्यवस्था गरेको छ । यही व्यवस्थालाई टेकेर अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समिति बनेको थियो ।

समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्ने ऐनमा उल्लेख भए पनि योग्य भन्दा पनि आफ्नो पार्टी निकटलाई गभर्नर बनाउन बर्तमान नेतृत्वबीच प्रतिष्पर्धा देखिएको छ ।

राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले उमेर हदका कारण चैत २४ मा अवकास पाउनुभएको थियो । त्यसयता रिक्तताको एक महिना बितिसकेको छ । गभर्नर नियुक्तिमा भइरहेको ढिलाइको एउटा कारण नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिना पनि रहेको टिप्पणी हुँदै आएको छ । उहाँले खासगरी कार्यकारी निर्देशक डा। गुणाकर भट्टको राजीनामा स्वीकृत गर्नुभएको छैन ।

राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले गएको मङ्गलवार एक विज्ञप्तिमार्फत भट्टको राजीनामा स्वीकृत नगरेको विषयलाई लिएर ढुङ्गानाको आलोचना समेत गरेको थियो । कामू ढुङ्गानाकै कारण सरकारलाई अप्ठ्यारो परिरहेको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बताउनुभएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त हुनसक्ने कतिपयले आँकलन गरेका भए पनि सरकारले निर्णय गरेन । कामू गभर्नर ढुङ्गानालाई २०७७ सालमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डेपुटी गभर्नर बनाएको थियो । वर्तमान सरकारले नै उनलाई कायममुकायम गभर्नर बनाएको थियो । राजीनामा दिएर गभर्नरको प्रतिष्पर्धामा आउन चाहेका भट्ट नेपाली कांग्रेस निकट मानिनुहुन्छ ।

यसैबीच सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताउनुभएको छ । उहाँको निजी निवास बुढानीलकण्ठमा आज बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वासन दिनुभएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search