पाकिस्तानले भारतीय आक्रमणमा आफ्ना ११ जना सैनिक मारिएको जनाएको छ । पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले गएको हप्ता भएको भारतसँगको लडाइँमा एक स्क्वाड्रन लिडर, वायुसेनाका पाँच र सेनाका अन्य ६ जना कर्मचारी मारिएका बताएको बीबीसीले जनाएको छ ।
यस्तै मे ६–७ राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको ज्यान गएको आईएसपीआरको विज्ञप्तिमा उल्लेख छ । यस्तै आक्रमणमा १० महिला र २७ बालबालिकासहित एक सय २१ जना घाइते भएका छन् ।
झन्डै चार दिनको लडाइँपछि भारत र पाकिस्तानले गएको शनिवार युद्धविरामको घोषणा गरेका थिए ।
यसअघि हिजो भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएपएफले) ‘अपरेशन सिन्दूर’ का क्रममा आफ्नातर्फ आठ जना सुरक्षाकर्मीको ज्यान गएको बताएको थियो ।