काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–२४ मखनटोलमा बिहान ग्यास चुहिएर लागेको आगो झन्डै तीन घण्टापछि निभाइएको छ ।काठमाण्डौको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक बिहान ६ बजेर ५० मिनेटको समयमा आगलागी भएको थियो ।
श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट शुरु भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको थियो ।
काठमाण्डौ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो ।
घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ । ज्यान गुमाउने महिलाको नाम थर खुल्न बाँकी छ । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ ।