काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई वटा घरमा आगलागी हुँदा ज्यान गुमाएकी वृद्धाको परिचय खुलेको छ ।
आगलागीमा परी काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
आज बिहान ग्याँस चुहिएर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा लागेको आगो नजिक रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत फैलिएको थियो । झन्डै तीन घण्टासम्म लागेको आगो दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले निभाएको छ ।
यसैबीच काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले आगलागी हुँदा क्षति भएका घरको अनुगमन गर्नुभएको छ । उहाँले महानगरले आउँदा दिनमा ग्यास कम्पनी र डिलरमा समेत अनुगमन गर्ने जानकारी दिनुभएको छ ।