शेयर बजार हप्ताभरि नै घट्यो, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

काठमाण्डौ । शेयर बजार यो हप्ताभरि नै घटेको छ । शेयर बजार परिसूचक नेप्से कारोबार हुने अन्तिम दिन आज बिहीवार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६ सय ११ दशमलव ८५ विन्दुमा झरेको छ ।

हप्ताको पहिलो दिन आइतवार नेप्से १२ दशमलव ५३, मङ्गलवार १४ दशमलव ८७ र बुधवार १३ दशमलव ९३ अङ्कले घटेको थियो । आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ७ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search