इजरायलको आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने राजदूत बासको प्रतिबद्धता

काठमाण्डौ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

इजरायलको ७७ औं स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वार्षिकोत्सवका अवसरमा हिजो बेलुका आयोजित स्वागत समारोहमा उहाँले पीडितका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ अध्ययनरत १० जना नेपाली मारिएका थिए ।

उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजदूत बासले उनीहरुका परिवारलाई निरन्तर सहयोग हुने बताउनुभयो । हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पनि निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ छ ।

बहुआयमिक नेपाल –इजरायल सम्बन्धबारे चर्चा गर्दै उहाँले नेपालको शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र सुरक्षालगायत क्षेत्रमा पारस्परिक सहकार्य हुँदै आएको बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search