काठमाण्डौ । नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको सुपर–थ्री मा प्रवेश गरेको छ ।
आज हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा सुपर–थ्रीमा प्रवेश गरेको हो । नेपालले ४ खेलमा २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जोडेको थियो ।
हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जोडेको छ । बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जोडेर पुछारमा रह्यो ।
महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
अब नेपालले सुपर–थ्रीमा ५ गते सोमवार यूएईसँग र ६ गते मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ । यी दुवै टोली नेपालभन्दा बलिया छन् ।