काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको पहिलो सेमिफाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल भारतको गोल्डेन जुब्ली स्टेडियममा अहिले दिउँसो पौने ४ बजे शुरू हुनेछ ।
नेपाल समूह ‘बी’ को उपविजेता र बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपालले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएको थियो । यस्तै बङ्गलादेशले पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दा दोस्रो खेलमा भूटानलाई हराएको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आजै राति पौने ८ बजे समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता माल्दिभ्स खेल्दैछन् ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।