काठमाण्डौ । आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । त्यस्तै कतै–कतै हावाहुरी पनि चल्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली छ ।
यी क्षेत्रका थोरै ठाउँमा र बाँकी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा आज दिउँसोपछि हिजोको जस्तै बदली र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्यस्तै प्रि–मनसुनमा स्थानीय वायु बढी सक्रिय हुने भएकाले छिटो–छिटो मौसम फेरबदल भइरहन्छ ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुका हावाहुरीसहित पानी परेको थियो । यसले केही ठाउँमा मानवीय र भौतिक क्षतिसमेत पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार नवलपरासी, रुपन्देही, कपिलबस्तु, कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारालगायत जिल्ला हिजोको हावाहुरीबाट प्रभावित भएका छन् ।
पछिल्लो विवरण अनुसार हावाहुरीले रुख ढल्दा नवलपरासी ९पश्चिम०, कपिलबस्तु र कैलालीमा गरी चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । रुखले च्यापिएर हिजो पश्चिम नवलपरासीको सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको ज्यान गएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको पनि रूखले च्यापेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले बताउनुभयो ।
यस्तै कैलालीमा हावाहुरीका कारण ढलेको रूखले च्यापिएर घोडाघोडी नगरपालिका–१ का ५२ वर्षीय कर्णबहादुर भण्डारीको हिजो ज्यान गएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।
हावाहुरी चलेका बेला ठूला रुख, बिजुलीका पोललगायत जोखिम क्षेत्रमा नबस्न विपद् प्राधिकरणको आग्रह छ ।