सोलुखुम्बु । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आधार शिविरको निरीक्षण गर्नुभएको छ । अहिले चलिरहेको आरोहणको अवस्था, आरोहीको सुरक्षा लगायत बिषयमा अनुगमनका लागि दुई जना मन्त्रिसहितको टोली बिहान सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकामा रहेको सगरमाथा आधार शिविरमा पुगेको हो ।
आधार शिविरमा आरोही एवम् पर्यटन व्यवसायीहरुमाझ बोल्दै उहाँले आरोही, व्यवसायी तथा सहयोगीहरु सबैको सुरक्षाका लागि सरकार तत्पर रहेको बताउनुभयो । यस्तै उहाँले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्ने पनि बताउनुभयो । अनावश्यक उडानलाई नियमन गरी आवश्यकताका आधारमा निर्वाध उडान हुनुपर्ने उहाँको भनाइ छ ।
गाउँपालिकाले हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न बारम्बार आग्रह गर्दै आएको हो । कार्यक्रममा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग पेश गरेका छन् ।
आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, आधारशिविरमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता माग प्रमुख छन् । अहिले सगरमाथामा आरोहण चलिरहेको छ ।
यस वर्ष सगरमाथा आरोहणका लागि चार सय ५८ जनाले अनुमती लिएका पर्यटन मन्त्रालयले जनाएको छ । एक सय जना भन्दा धेरैले आरोहण गरिसकेका छन् । मे २९ तारिख अर्थात् जेठको मध्यसम्म सगरमाथा आरोहण हुने गरेको छ ।