काठमाण्डौ । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी-५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नम्बर १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् ।
बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताउनुभयो ।
गएको वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दीपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् ।