उच्च हिमाली क्षेत्रका बासिन्दालाई यार्सा टिप्ने चटारो

काठमाण्डौ । नेपालमा उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो देखिन्छ । हिउँ पग्लिएर खाली भएका पाटनहरुमा यार्सा गुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो ।

नेपालको पश्चिम उत्तर क्षेत्रका उच्च हिमाली गाउँमा यार्सागुम्बा आर्थिकोपार्जन र पारिवारिक अर्थचक्रको महत्त्वपूर्ण पक्ष हो । यस क्षेत्रका स्थानीयवासीहरु जेठको दोश्रो हप्तादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा किरा कोर्न जाने गर्दछन् । उच्च हिमाली क्षेत्रका पाटनहरुमा पाइने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा किरा कोर्ने भन्ने गरिन्छ ।

यो समयमा सबै किरा कोर्न गएका कारण विद्यालयसमेत बन्द भएका छन् । झन्डै एक महिनाको समय गाउँ नै सुनसान हुन्छ ।

मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ७ का सामाजिक परिचालक ठिल्ले लामाले गाउँमा साना नानी भएका महिला, यार्सा टिप्न जान नसक्ने बालबालिका र वृद्धवृद्धामात्रै रहेका बताउनुभयो । उहाँका अनुसार ठ्याक्कै एक महिना गाउँ सुनसान हुन्छ । असार १३ गते पछि मात्र उनीहरु गाउँ फर्कन्छन् ।

यार्सागुम्बा नेपालको हिमाली क्षेत्रमा पाइने ढुसीको एक प्रजाति हो । बहुमूल्य जडिबुटीको रुपमा प्रयोग हुँदै आएको यार्सागुम्बा निर्यातबाट ठूलो आम्दानी हुने गर्दछ । सिजनमा ९ वर्षभन्दा माथि ६० वर्ष उमेरसम्मका मानिसहरु यार्सा टिप्न जाने गर्दछन् ।

यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा टिप्न खुला गरिएको थियो । १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पालगायतका अधिकांश विद्यालय बन्द छन भने गाउँहरु पनि सुनसान हुन थालेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search