काठमाण्डौ । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ०७ अङ्कले बढेर २ हजार ६ सय ७८ दशमलव १७ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ५ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज १ सय ९६ वटा कम्पनीको शेयर बढेको छ भने ५२ वटा कम्पनीको शेयर घटेको छ ।
आज प्योर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर १० अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ ।