काठमाण्डौ । जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका बीचमा रहेको भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
चिनियाँ गेजुवा कम्पनीले नलगाड नगरपालिकाको वडा नम्बर १०, ११, १२, १३ र आठबिसकोट नगरपालिकाको वडा नम्बर ४, ५ र ६ मा २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमाथि वन तथा वातावरण मन्त्रालयमा छलफल गरी राय सुझाव लिइएको छ । वातावरण संरक्षण ऐन २०७६ ले तोकेको राय सुझाव समितिको बैठकमा मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानले स्थानीय जैविक विविधता, स्थानीय तथा आदिवासी नागरिकको जीविकोपार्जनलाई कम असर गर्नेगरी प्रस्तावित आयोजना निर्माणलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
बैठकमा राय सुझाव समितिका सदस्य सचिव एवम् मन्त्रालयका उपसचिव रमेश बस्नेतले वातावरणीय अध्ययन प्रतिवेदन औपचारिक मात्र नभई आयोजनाको दिगो सञ्चालनका लागि तयार पारिने वैज्ञानिक एवम् कानूनी दस्तावेज भएको बताउनुभयो ।
४६ अर्ब रुपैयाँ लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना अगाडि बढाउन लागिएको हो ।