प्रा.डा.राजीब झा
ब्रेन ट्युमर भन्नाले मस्तिष्कभित्रको कोशिकामा हुने असामान्य वृद्धि वा मासुको डल्लोलाई बुझिन्छ । यो समस्या एकदमै गम्भीर हुन सक्छ । यसको एक मात्र कारण भन्ने केही निश्चित छैन । हाम्रो शरीरका सम्पूर्ण अङ्गहरू कोशिकाबाट बनेका हुन्छन्, ती कोशिकाहरूमा कुनै खराबी वा अनियन्त्रित वृद्धि हुन थालेमा ब्रेन ट्युमर बन्न सक्छ । यसको मुख्य कारण प्रायः जीनको समस्या हो भने अन्य सम्भावित कारणहरूमा विकिरण (रेडियसन), लामो समयसम्म टेलिफोनको अत्यधिक प्रयोग, टाउकोमा लागेको चोट वा केही किसिमका सङ्क्रमणहरु पर्न सक्छन् । यद्यपि, टेलिफोन प्रयोग र ब्रेन ट्युमरको सम्बन्धका बारेमा संसारमा अत्यन्तै कम प्रमाण छन् ।
नेपालको सन्दर्भमा हेर्दा हरेक एक लाख जनसङ्ख्यामा ११ देखि १२ जनामा ब्रेन ट्युमर देखापरेको पाइन्छ, जुन विश्वको औसत स्तरसँग तुलना गर्दा कम भन्न मिल्दैन । पहिलेको अनुमान अनुसार यो सङ्ख्या ५–६ जना हुने ठानिएको थियो, तर अहिलको अवस्थाले त्यो भन्दा बढी देखिएको छ । उमेरको हिसाबले झन्डै ४० देखि ६० वर्षका व्यक्तिहरूमा यसको सम्भावना बढी देखिएको छ । ७० देखि माथिका वृद्ध अवस्थाका मानिसहरूमा कम देखिनुको कारण उनीहरू अस्पतालसम्म नपुग्नु पनि हुन सक्छ यसमा स्पष्ट छैन । अन्य देशमा हेर्दा ब्रेन ट्युमर पुरुषमा बढी देखिन्छ भने नेपालमा भने महिला र पुरुषमा बराबरी ५०/५० प्रतिशतको अनुपातमा देखिएको तथ्य छ ।
ट्युमर मस्तिष्कको कुन भागमा रहेको छ भन्ने कुराले पनि यसका लक्षणहरू फरक–फरक देखिन सक्छन् । ब्रेन ट्युमरका प्रमुख लक्षणहरूमा बिहान उठ्ने वित्तिकै टाउको दुख्ने, दैनिक टाउको दुखाई बढ्दै जाने, बान्ता हुने, प्यारालाइसिस (अङ्गहरू नचल्ने), छारे रोग लाग्ने, दृष्टिदोष, दिशापिसाब नियन्त्रण गर्न नसक्ने, कान कम सुन्ने, घाँटीबाट खाना निल्न नसक्ने जस्ता समस्या देखिन्छन् । यी लक्षणहरू अन्य सामान्य समस्याजस्तै लागे पनि समयमा ध्यान नदिए ठूलो समस्या निम्त्याउन सक्छ । मानसिक स्वास्थ्य पनि ब्रेन ट्युमरसँग जोडिएको पाइन्छ । निरन्तर तनावले ट्युमर बढाउने सम्भावना हुन्छ ।
त्यसैले मानसिक सन्तुलन कायम राख्नु, तनावमुक्त जीवनशैली अपनाउनु अत्यन्त जरुरी छ । अस्वस्थ जीवनशैली, चुरोट, रक्सी तथा लागुपदार्थको प्रयोगले यसको जोखिम झनै बढाउने भएकाले यस्ता बानीहरू त्याग्नु आवश्यक हुन्छ । यसको जोखिम कम पार्न खानपानमा सन्तुलन, व्यायाम, आरामदायी र संयमित जीवनशैली आवश्यक हुन्छ । प्रारम्भिक अवस्थामै लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिएर उपचार शुरु गरेमा यसबाट बच्न सकिन्छ । शुरुको चरणमा सर्जरी गर्नैपर्छ भन्ने छैन । ट्युमरको अवस्था हेरेर औषधिबाट समेत नियन्त्रण गर्न सकिन्छ । न्यूरो अस्पताल जानैपर्छ भन्ने होइन, घर नजिकको अस्पताल वा विशेषज्ञ डाक्टरसँग सल्लाह लिन सकिन्छ ।
ब्रेन ट्युमरलाई चार तहमा वर्गीकरण गरिन्छ, जसमध्ये पहिलो तहको ट्युमर सामान्य किसिमको हुन्छ र सजिलै उपचार गर्न सकिन्छ । तेस्रो र चौथो तहको ट्युमर भने निकै जटिल हुन्छ जसको उपचार प्रक्रिया चुनौतीपूर्ण हुन्छ । नेपालमा पछिल्लो समय हेर्दा स्वास्थ्य सेवा सबै प्रदेश र गाउँगाउँसम्म पुगेकोले ब्रेन ट्युमरको उपचार सुलभ हुँदै गएको छ, जुन सकारात्मक पक्ष हो । कुनै पनि लक्षण देखिएमा लापरबाही नगरी समयमै अस्पताल जानु, विशेषज्ञसँग सल्लाह गर्नु र नियमित स्वास्थ्य परीक्षण गरिरहनु नै ब्रेन ट्युमरबाट बच्ने सबैभन्दा सजिलो उपाय हो ।











