“मकालु सन्देश” विशेषांक – १०

मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”

यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।

समाचारहरु

१. मकालुकी किपा लामु शेर्पा सम्मानित

करिब दुई महिनाको अवधीमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मी.) र विश्वको पाँचौ अग्लो मकालु हिमाल (८,४८५मी.) सफल आरोहण गर्ने किपा लामु शेर्पा सम्मानित भएकी छिन् ।

जेष्ठ २२ गते सदरमुकाम खाँदबारीमा जिल्ला समन्वय समिति संखुवासभाले मकालु गउँपालिका २ नुर्वु गाउँकी किपा लामुलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मानित गरिएको हो । उनले करिब दुई महिनाको अवधीमा दुई अग्ला हिमालको सफल आरोहण गरेका हुन् ।

वि.सं. २०५३ माघ १५ गते बुबा पासाङ दोर्ची शेर्पा र आमा पासाङ डोमा शेर्पाको कोखबाट जन्मिएका २८ वर्षीय शेर्पा ३ जना छोराछोरीकी आमा हुन् । उनले गत १० अप्रिल अर्थात् चैत्र २८ गते १२ दिनमा मकालु हिमाल र २३ मे अर्थात् जेठ ९ गते ४ दिनमा नै सगरमाथाको सफल आरोहण गरेका हुन् ।

किपा लामुलाई सम्मान गर्दै जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले एउटी महिला त्यसमा पनि आमाले विश्वको अग्लो दुई वटा हिमाल चढेर देखाएको शाहस प्रति सम्मान गरिएको बताए । कार्यक्रममा राजनैतिक दलका नेताहरु, जनप्रतिनिधि, शेर्पा समुदायका व्यक्तिहरु र पत्रकाहरुको उपस्थिति रहेको थियो । यसअघि मकालु गाउँपालिका र नेपाल पत्रकार महासंघ संखुवासभाले पनि सम्मान गरेको थियो ।

मकालु गाउँपालिका मकालु हिमालकै नामबाट नामाकरण गरिएको गाउँपालिका हो । यहाँका अधिकांश मानिसहरु टेकिङ्ग पेशामा आबद्ध छन् । मकालुको सेदुवा, नुर्बुगाउँ, टासीगाउँ, वालुङ लगायतका क्षेत्रका युवाहरुको जिविको पार्जनको स्रोत नै ट्रेकिङ्ग व्यवसाय हो । मकालु गाउँपालिकालाई आरोहीहरुको पालिकासमेत भनेर चिन्ने गरिन्छ ।

२. मकालुमा शिविरमार्फत राष्ट्रिय परिचय पत्र वितरण सम्पन्न
मकालु गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्रको लगत संकलन तथा वितरणका लागि जिल्ला प्रशासन कार्यालयबाट कर्मचारीहरुको टोली मकालुका विभिन्न वडाहरुमा पुगेका थिए ।

उक्त टोलीले सबै वडामा २ दिन सेवा प्रदान गरेका थिए । जसमा वडा नं ६ मा जेष्ठ ९ र १० गते शिविर सञ्चालन गरेको थियो । जसमा १ सय ५८ जनाले सेवा लिएका छन् । यसतै वडा नं. १ मा जेष्ठ ११ र १२ गते शिविर सञ्चालन गरेको थियो । जसमा १ सय २८ जनाले सेवा लिएका हुन् भने वडा नं. २ मा जेष्ठ १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । शिविरमा ६८ जनाले सेवा लिएका छन् । यसै गरि वडा नं.३ मा १५ र १६ गते शिविर सञ्चालन भएको थियो जस्मा २३१ जनाले सेवा लिएका थिए । यस्तै वडा नं. ४ मा १७ र १८ गते सञ्चालन हुने हो जस्मा २३८ जनाले सेवा लिएका हुन् । यस्तै वडा नं. ५ मा जेष्ठ १९ र २० गते सञ्चालन भएकोमा ३३५ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

अघिल्लो राष्ट्रिय शिविरमा छुटेकाहरुको लगत संकलन र जिल्लामा प्राप्त भई आएको परिचय पत्र वितरण गर्ने गरि शिविर सञ्चालन भएको हो । जिल्ला प्रशासन कार्यालयका ४ जना कर्मचारी र एक प्रहरी, मकालु गाउँपालिकाका २ कर्मचारीसहित वडाका कर्मचारीहरुको संक्रियतामा शिविर सञ्चालन भएको थियो ।

जिल्लासम्म आउन नसक्ने जेष्ठ नागरिक, अपाङ्गहरुलाई सहज बनाउन शिविर आवश्यक रहेको कारण शिविर सञ्चालन गरिएको हो । भौगोलिक विकट भएको स्थानमा सरकारले अनिवार्य बनाएको राष्ट्रिय परिचय पत्र नभएकै कारण सेवा लिनबाट बन्चित नहोस् भनेर यो शिविर सञ्चालन गरिएको हो ।

शिविरमा परिचय पत्र बनाउन सक्कलै नागरिकता, विवाह भएकाहरुको विवाह दर्ता, बसाईसराई गरि आउनेको बसाईसराई, पति वा पत्नि एकको मृत्यु भएको खण्डमा मृत्यु दर्ता लिएर आउनु अनिवार्य गरिुउको थियो । परिचय पत्र लिन आउनेहरु पहिले वितरण गरेको कागजातसहित स्वयम् उपस्थित हुनु पर्नेछ ।

३. मकालुमा एक दिने संक्रमण नियन्त्रण सम्बन्धी तालिम
मकालुमा संक्रमण नियन्त्रण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । मकालु गाउँपालिका स्वास्थ्य शाखा नुमको आयोजनामा जेष्ठ २३ गते वडा नं ५ को सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मकालु गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी कर्मचारीहरु २० जनाको सहभागीता रहेको थियो ।

स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी कर्मचारीलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराउनु, सरसफाईको महत्व बारे तथा व्यक्तिगत सरसफाई बारे सहभागीको क्षमता अभिबृद्धि गर्न, संक्रमणको निर्मलीकरण तथा निसंक्रमणको बारे जानकारी गराउने, स्वास्थ्य सेवाजन्य फोहोर व्यवस्थापन तथा फोहोरको ढुवानी कसरी गर्ने भन्ने बारे जानकारी गराउने यस कार्यक्रमको उदेश्य रहेको मकालु स्वास्थ्य शाखामा कार्यरत क्षयरोग कार्यक्रम संयोजक राजु साहले जानकारी दिए । उक्त कार्यक्रममा सहभागीहरुलाई एक–एक वटा झोलासमेत वितरण गरिएको थियो ।

४. मकालुमा बाँसको हस्तकला तालिम हुँदै
मकालु गाउँपालिकामा बाँसको हस्तकला तालिम सञ्चालन भईरहेको छ । महिला सिप विकास केन्द्र इटहरीको आयोजना तथा मकालु गाउँपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हो । जेष्ठ १५ गते देखि असार १५ गतेसम्म सञ्चालित तालिममा मकालुमा विभिन्न वडाका १५ जनाको सहभागिता रहेको छ । तालिम मकालु ५ नुममा सञ्चालन भईरहेको छ ।

मकालुका विभिन्न वडामासमेत यसअघि पनि हस्तकला सम्बन्धी तालिम दिइएको छ भने केही नयाँ सहभागीहरु पनि छन् । तालिमबाट घरायसी सामाग्री र स्थानीय स्रोतबाट निर्मित सामाग्री अन्यत्रबाट खरिद गर्न।पर्ने बाध्यता हट्ने अनुमान गरिएको छ । मकालु गाउँपालिकाले स्थानीयलाई स्वरोजगारमुलक बनाउन वर्षेनी सीप विकासका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

५. मकालु ५ का कृषकलाई हाते ट्याक्टर वितरण
मकालु गाउँपालिका वडा नं. ५ का कृषक तथा कृषि समूहलाई ७ वटा हाते ट्रयाक्टर वितरण गरिएको छ । विहिबार मकालु ५ को कार्यालयमा हाते ट्रयाक्टर वितरण गरिएको हो । आर्थिक बर्ष २०८१/८२ को वडा बजेटबाट कृषी कार्यक्रम अन्र्तगत ट्रयाक्टर वितरण गरिएको हो ।

कृषकहरुलाई सहज तरिकाले खेतिपाती गरेर जिविकोपार्जन गर्न सहज होस भन्ने उदेश्यले हाते ट्रयाक्टर वितरण गरिएको वडा अध्यक्ष योगराज राईले बताए ।

अन्तरवार्ता

वडा नं. २ लाई सडकले जोड्नु नै ठूलो कुरा हो : वडा अध्यक्ष शेर्पा

मकालु गाउँपालिका वडा नं. २ ले चालु आर्थिक वर्षमा सञ्चालन गरिरहेको योजना तथा कार्यक्रमको बारेमा वडा अध्यक्ष छोपाल शेर्पासँग सहकर्मी मेघराज तामाङले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

१. अध्यक्ष ज्यू, यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद ।

२. मकालु गाउँपालिका वडा नं. २ भौगोलिक रुपमा विकट तर सम्भावना बोकेको वडाको रुपमा चिन्छौँ । अरुण नदिदेखि फैलिएर मकालु हिमाल चीनको सिमानासम्म पुग्छ । वडा नं. २ को विकास अहिले कसरी गरिरहनु भएको छ । जनप्रतिनिधि भएर यो ३ वर्ष बितिसक्दा यहाँले वडा नं. २ को विकास कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
मकालु २ विकट भन्ने त सबैलाई थाहा छँदैछ । हाम्रो सबै भन्दा पहिलो प्राथमिकता भनेको कृषि सडक ट्रयाकओपन गर्ने, बिजुली बत्ती गाउँगाउँमा पु¥याउने र विशेष समस्या अरुण नदिमा मोटरेबल पुल हाल्ने थियो त्यो चाहीँ काँसुवा हाइड्रोले बनाइदियो र हामीले अहिले गाउँगाउँमा कृषि सडक पु¥याएका छौँ । कृषि सडक पु¥याउन नसकेको ठाउँमा गोरेटोबाटो प¥याएका छौँ । अनि केन्द्रिय बिजुली बत्ती लगभग लिम्दुम्सा भन्ने ठाउँ छ, त्यहाँ पु¥याउन सकेको छैन । अरु ठाउँमा हामीले प¥याएका छौँ । त्यस्तै कृषि, स्वास्थ्य, शिक्षा लगायतको कुरालाई बजेटले पुगेसम्म कुन कुन कुराको समस्या छ त्यस्को हामीले समाधान गरेका छौँ ।

३. अहिले बिजुली बत्ती बाल्ने घर परिवारको संख्या सरदर कति छ ?
अब अहिले चाँही जोडिरहेको अवस्था छ । लगभग अन्तिम चरणमा पुगेको छ । त्यसो भएर अब फाइनल हुँदासम्म ६ सय ५० घरले बत्ती बाल्छन् भन्ने अनुमान छ, मकालु २ मा ।

४. वडा नंं. २ पर्यटकीय हिसाबले मकालु वेसक्याम्प, शिवधारा लगायतको रुटमा मुख्य ठाउँहरु पर्छ । जुन चाँही धार्मिक आस्थाको रुपले मुख्य मार्गको रुपमा हेरिन्छ । पर्यटन क्षेत्रको विकासको लागि यहाँले के गरि रहनु भएको छ ? जनप्रतिनिधी भईसकेपछि वडा नं. २ लाई विकासमा अगाडि बढाउनको लागि पर्यटनलाई चाहिँ कसरी अगाडि बढाउनु भएको छ ?
मकालु भन्ने बित्तिकै नेपालकै पर्यटनको सम्भावना भएको ठाउँ हो । यहाँ विभिन्न हिमाल लगायत धार्मिक स्थलहरु रहेको छ । बरुण उपत्यका, शिवधारा लगायतको सुन्दर ठाउँहरु छन् । यहाँ धेरै पर्यटकहरु आउने गर्छन् । अरुण नदिमा पुल बनिसकेपछि अझै धेरै पर्यटकहरु आउने अनुमान गरिएको छ । किनकी बाटोको असुविधाको कारण पर्यटकहरुलाई आउन समस्या थियो । तर अब टासि गाउँसम्म गाडिमा जान सकिन्छ । र त्यहाँ भन्दा माथि होटलहरु व्यवस्थापन गरेर त्यो ठाउँमा सञ्चारको व्यवस्थापन गर्न लागिरहेका छौँ
तर यसमा विभिन्न समस्याहरु छन् ।

नितिगत समस्याहरु सुधार गर्नुपर्ने छ । किनकी त्यो राष्ट्रिय निकुञ्ज पर्छ । अब हामीले पर्यटनका लागि गर्नुपर्ने कुरा वडाको मात्रै हैन । पालिका, प्रदेश र संघमा पनि हामीले पहल गरिरहेका छौँ । टासि गाउँ भन्दा माथि मकालु बरुण राष्ट्रिय निकुञ्जको एरियामा निकुञ्जको कानुन अनुसार कानुन संशोधन गरेर त्यहाँ आउने पर्यटकहरुलाई सेवा सुविधा दिनुपर्ने नितीगत समस्या आधिकारिक रुपमा होटलहरु दर्ता गर्ने प्रक्रियामा जानु पर्छ भनेर हामीले वडा तथा गाउँपालिकाबाट पहल गरिरहेका छौँ ।

५. अहिले वेसक्याम्पसम्म पुग्दाखेरी हामी जति निश्चित ठाउँमा बास बस्छौँ ती होटलहरु चाँही कसरी सञ्चालित भएको छत ? यो भन्दा अगाडि राष्ट्रिय निकुञ्जसँगै सहमती भएर सञ्चालन भएको होकि, उहाँहरुलाई जो होटल सञ्चालक हुनुहन्छ, त्यो क्षेत्रमा उहाँहरुले राज्यलाई कर तिरिरहनु भएको छ ?
यो चाँही कस्तो थियो भने पहिला त्यो क्षेत्रमा हामी निकुञ्ज आउनु भन्दा अगाडि पनि त्यो क्षेत्र खर्कहरु, गोठहरु बसिरहेको थियो । त्यहाँ आउने पर्यटकहरु चाहिँ सेवा दिन प¥यो भनेर त्यहीँ गोठमा चिया पसलहरु गर्दै आएको थियो र त्यहाँ निकुञ्जसँगै समन्वय गरेर सामान्य तरिकाले चलाइरहेको अवस्था छ । त्यसलाई अलि परिर्वतन गरेर लैजादै गर्दाखेरी सामान्य खानाबस्नको व्यवस्थासम्म मिलाउने गरिएको छ । पछिल्लो समयमा त्यहाँ साना–तिना व्यवस्थाले थेग्न नसक्ने स्थिति छ । त्यहाँ त लाखौँ मानिस आउन खोज्छन् र लाखौँ मान्छेलाई सुविधा दिन चाहिँ अहिले हामी सकिरहेका छैनौँ । किनभने त्यहाँ चाँही ठूल–ठूला संरचना बनाउनको लागि निकुञ्जले पनि निती बनाईदिनु प¥यो ।

६. तपाई त पर्यटकीय रुपमा होटल व्यवसायी पनि हुनुहुन्छ । यहाँले जनप्रतिनिधि भईसके पछाडी निकुञ्ज एरियामा होटल सञ्चालनको लागि अथवा आउने पर्यटकहरुलाई सेवा सुविधा दिनको लागि होमस्टेहरु वा व्यवस्थित होटलहरु सञ्चालन गर्नुपर्छ है भन्नको लागि तपाँईले व्यक्तिगत रुपमा र जनप्रतिनिधीको हिसाबले के पहल गर्नुभयो ?
अहिले हामीले होमस्टेलाई सञ्चालन गर्ने भन्ने कुरा सोचीरहेका छौँ । पहिले पनि होमस्टे सेदुवा र टासिगाउँमा दर्ता पनि भएको छ । अब त्यसलाई यो वर्ष सुधार गर्नको लागि तालिम दिएर होमस्टे सञ्चालन गर्ने हाम्रो प्रदेश सरकारसँग कुरा भईरहेको छ । यो भन्दा माथिल्लो क्षेत्रमा निकुञ्जसँग बारम्बार प्रस्ताव गरिरहेका छौँ । त्यहाँ पर्यटकहरुलाई कसरी सुविधा दिने र पहिलो कुरा त हामीलाई बास, गाँस, कपासको आवश्यक पर्छ । त्यहाँ गएपछि ज्यान त बचाउनु प¥यो । त्यहाँ चाहिँ खानबस्नको लागि स्टेन्डर खालको होटलहरु क्याम्प–क्याम्पमा सञ्चालन गर्नको लागि अनुमतिको लागि हामीले पहल गरिरहेका छौँ । अब बाटोघाटो त हामीले बनाईरहेका छौँ ।

७. अहिले सञ्चारको सुविधा चाँही कहाँसम्म छ ?
सञ्चार सुविधा हामीले एउटा च्याक्से डाँडामा र अर्काे शिवधारा मकालु वेसक्याम्पसम्म टिप्ने टावर हामीले माग गरेका थियौँ । अब च्याक्से डाँडामा सजिलै भयो किनकी निकुञ्ज क्षेत्र परेन र त्यहाँ अब सञ्चालन गर्नु मात्रै बाँकी छ । अब त्यहाँसम्म बिजुली पुगेपछि माथि खोङ्मासम्म त्यसले भ्याउँछ । त्यो भन्दा माथिको हामीले प्रक्रिया धेरै माथिसम्म पु¥याइसकेका छौँ । त्यो पनि दर्ता भएर माथिबाट त्यसलाई जसरी भएपनि कार्यान्वयन गर्छौँ भन्ने कुरा आएको छ । त्यसलाई पनि चाँडै यो मकालु वेसक्याम्प, शिवधारा लगायतको त्यो क्षेत्रलाई सञ्चार सुविधा दिनको लागि धेरै कुराहरु अगाडी बढाएका छौँ ।

८. अहिले कहाँसम्म मोबाइल सेवा छ, अबको यात्रामा कहाँसम्म फोनमा बोल्न सकिन्छ ?
अब अहिले त अघि नै भनिसके मैले टासिगाउँमा कहिलेकाँही टिप्ने हो, खोङ्मामा कहिलेकाहीँ टिप्छ पानी पर्दाखेरी त टिप्दैन ।

९. वेसक्याम्प पुगेर आउँदा करिब १ हप्ता चाँही सम्पर्कविहिन नै हुन्छ ?
हा,े १ हप्ता चाँही सम्पर्कविहिन नै हुन्छ । त्यो एकदम ठूलो समस्या छ ।

१०. यहाँले पर्यटन सम्बन्धी त केही कुरा राखी सक्नु भयो । यो चालु आर्थिक वर्षमा यहाँको वडामा कति वटा योजनाहरु थियो ? तिनीहरुको सम्झौता फरफारकको अवस्था के छ ?
हामीले योजना हाम्रो गाउँघरमा सानोसानो योजनाहरु वडाले गर्ने त्यस्तै त हो । सानोसानो कार्यक्रमहरु हुन्छ । हाम्रो वडामा लगभग २८/२९ वटा जति योजना छ । त्यो चाँही कृषि क्षेत्रमा कृषि सिँचाई, गोरेटोबाटो अनि कृषि सडकहरु ट्रयाकओपन, स्वास्थ्य, शिक्षामा, त्यस्तै काठेपुलहरु लगायत २८/२९ वटा योजनाहरु थियो । लगभग सबै सम्झौता भएर पनि फरफारकको प्रक्रियामा छ । अब एउटा मात्रै योजना सम्झौता हुन सकेको छैन । त्यो चाहीँ पहिरोको कारण अपांगता भएको समूहलाई बोयर बाख्रा वितरणको लागि २ लाख रुपैयाँ छट्याएका थियौँ । त्यो एउटा सम्झौता हुन सकेको छैन, त्यो पनि सम्झौता हुन्छ होला । अपाङगता समूहलाई उन्नतजातको बाख्रा दिने भन्ने योजना थियो ।

११. योजना सञ्चालन कै कुरा गर्दा चाँही अरुण नदिमा यो साल नै पुल बनिसके पछि वडा नं. २ मा पहिलो पटक सामाजिक सुरक्षा भत्ता पनि वडा कार्यालयमा नै वितरण गरिएको छ । अहिले वडा नं. २ को कहाँसम्म यातायातमा सहज यात्रा गर्न सकिन्छ ?
अब हामीले अस्ती टासि गाउँसम्म नै गाडिहरु प¥याएको थियौँ । गाउँपालिकाको सहयोग तथा स्थानीय व्यक्तिहरुको सहयोगमा टासि गाउँसम्म नै गाडिहरु प¥याएको थियौँ । अब बर्खाको समय सुरु भएको कारण अस्ती भर्खरैको पानीले गर्दा चाम्लाखर्कदेखि टासिगाउँसम्मको बाटोमा क्षती पु¥याएछ । अनि मोटामोटि वडाको बजेटले भएत १ वर्षको बजेटले पनि त्यो बाटो बनिसक्दैन थियो होला । काँसुवा हाइड्रोले ठाउँ–ठाउँमा ४/५ वटा मेसिनले बाटो सफा गरेर अहिले चाँही सेदुवासम्म गाडिमा जान सक्छाँै ।

त्यो भन्दामाथि चाँही हामी आफैँले सर–सहयोग गरेर जसोतसो माने गाउँसम्म गाडि पुग्छ । तर सहज तरिकाले चाँही सेदुवासम्म जान सक्छौँ । टासि गाउँमा धेरै बाटो बिग्रीएको छ । बजेट नभएको हुनाले त्यँहासम्म पुग्नको लागि समस्या छ । अहिले नावाँ गाउँसम्म चाहिँ गाडि जान्छ नावाँ गाउँ हुदै नुर्वूगाउँ त्यसपछि नुर्वुचौरसम्म जाने बाटो लगभग निर्माण सम्पन्न हुन लागेको छ । अर्को वर्ष चाँही त्यहाँसम्म पु¥याउँछौँ ।

१२. वडा नं. २ को केहि समय अगाडि सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालनको क्रममा वडा नंं. २ मा तथा गाउँपालिकामा नै बृद्धाआश्रम सञ्चालन गर्नुपर्छ भन्ने कुराको आवाज पनि उठ्यो । यहाँले त्यही सार्वजनिक सुनुवाई कार्यक्रममा चाहीँ मैले एक बृद्धालाई हेरचाहको लागि व्यक्तिगत रुपमा खर्च सञ्चालन गरेर सहयोग गरिरहेको छु भनेर भन्नु भयो । आज यहीँ कार्यक्रममार्फत को मान्छे हुनुहुन्छ ? कसरी सहयोग गरिरहनु भएको छ ? उहाँको अवस्था के छ भनेर थोरै जानकारी गराई दिनुस् न ।
उहाँ टासि गाउँको हुनुहुन्छ । लचिमाया हो उहाँको नाम चाहिँ उहाँ अहिले ८५ वर्षको भइसक्नु भएको छ । उहाँ पहिले आँखा देख्नु हुन्थ्यो अहिले आँखा देख्नु हुन्न । उहाँको आफन्तहरु चाँही नावाँ गाउँमा हुनुहुन्छ । आफन्तको घरमा उहाँ बस्नु पनि नमान्ने, आँखा पनि नदेख्ने र उहाँ एक्लै हुनुहुन्थ्यो आँखा नदेखेपछि खाना बनाएर खाना पनि नसक्ने र उहाँ बस्ने घर चाँही चुहिसकेको थियो । एकदमै जिर्ण अवस्थाको थियो । म त्यहाँ पुग्दाखेरी मलाई अतिनै माया लाग्यो । के गर्दा हुन्छ भनेर त्यहाँका सबै टोलबासी बोलाउँदा खेरी म यहाँबाट कतै जादिन मरेपनि यहीँ मर्छु भनेपछि मैले एकजनालाई उहाँलाई खाना बनाएर खुवाउनुको लागि वर्षको ५० हजार मैले आफ्नै व्यत्तिगत रुपमा दिन्छु भनेर राखेको छु । अनि घर पनि मैले आफै व्यत्तिगत सहयोगमा बस्न लायकको बनाई दिएको छु ।

१३. त्यसमा कतिजति लागत गएको छ ?
त्यहाँ पुरानो पनि थियो, पुरानोलाई सारेर बनाउँदा खेरी २० हजार जति लाग्यो होला । उहाँ मात्रै नभएर बृद्धबृद्धाहरु धेरै छन् अरुलाई पनि समस्या परेको बेला हेरेर बस्ने कुरा हुँदैन । राज्यको पैसा भनेको हरेक कुरा सिस्टममा मात्रै हो । समस्या परिहालेको खण्डमा तत्कालै राज्यबाट दिन पनि सकिँदैन । र त्यस्तो कुरामा ५/१० हजार गरेर वर्षमा धेरै खर्च हुने रहेछ । किनकी समस्या देखी सकेपछि समस्याको समाधान कसरी गर्ने, कसरी सहयोग गर्ने भन्ने कुरा हुन्छ, सबै नसकेपनि केहि सहयोग गरिरहेको छु ।

१४. कार्यक्रमको अन्तिममा यूवाहरुलाई घरमा नै अथवा नेपालमा नै बस्नको लागि गाउँमा नै बसेर सेवा गर्नको लागि तपाईको उदेश्य भिजन अथवा सुझाव के रहन्छ ?
अव यसमा त धेरै कुराहरु जोडिएका हुन्छन् । यूवाहरु गाउँमा नबस्नुको कारण के कारणले हो भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । किनभने हाम्रो गाउँमा कृषिका लागि जमिनहरु प्रसस्तै छन् । नेपाल कृषि प्रधान देश भएपनि स्थानीय उत्पादनले बजारीकरण पाएको छैन । अनि गाउँमा के छ भनेदेखि हाम्रो शेर्पा समुदायमा चाहीँ हिमाल जाने हिमाल गए पैसा पनि टन्नै आउँछ र विदेश जानेको संख्या पनि बढेको छ । पैसा कमाउन कै लागि हाम्रो ठाउँमा त त्यो खालको वातावरण छैन । त्यो भएपछि पैसाले तान्दो रहेछ ।

युवाहरुलाई पैसाले तानेको हो । तर हुनत हाम्रो गाउँमा पनि जानियो भने वडाले मात्रै सक्दैन राज्यले नै एकखालको सिस्टम बनाएर ग¥यो भने युवाहरु रहरले हैन, कहरले गएको होनि त । त्यो कारणले हामिले रोक्न सक्ने स्थिति टन्नै छ । किनभने हाम्रो ठाउँमा जमिन पनि छ । पर्यटनको सम्भावना बोकेको ठाउँ हो । त्यस कारण पर्यटनको पेसामा नै लाग्यौँ भने राम्रो आम्दानी लिन सक्छौँ । यो पर्यटन र कृषिले मात्रै पनि प्रसस्तै पुग्ने ठाउँ हो । जग्गा जमिन भयो, हाइड्रो भयो, थुप्रै स्रोतहरु छन् । तर यो कताकता सिस्टम नमिलेर होकि जस्तो लाग्छ । मैले धेरै कुरा चाहीँ सोचे यो विषयमा वडाले मात्रै नसक्ने रहेछ । मेरो विचारमा यी विषयमा राज्यले नै ध्यान दिएर रोजगारी दिलाउन सके नेपालमा नै यूवालाई रोक्न सकिन्छ ।

१५ं. हवस्, यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद ।
यहाँलाई पनि धन्यवाद ।

यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र संखुवासभा एक्सप्रेस साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search