रामेछापको दोरम्बामा पहिरो : एउटा घर भत्कियो, चार घर उच्च जोखिममा

रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरको चिहान खोला नजिकै गएराति पहिरो जाँदा एउटा घर भत्किएको छ । चार वटा घर उच्च जोखिममा रहेका छन् । हिरोले स्थानीय झगरसिंह बसेलको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्णरूपमा भत्किएको छ भने चेली बसेलको चौपाया बाँध्ने गोठ पहिरोले पुरिँदा एक गाई र बाछो मरेको छ ।

यही ठाउँमा १२ घरधुरीको बसोबास रहेको छ ।  जसमध्ये हरिकृष्ण बसेल, बुद्धिमान बसेल र चिना बसेलको घर उच्च जोखिममा रहेकाले तत्काल अन्यत्र सार्नुपर्ने अवस्था रहेको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरका वडाध्यक्ष सन्तलाल थापामगरले जानकारी दिनुभयो ।यस्तै रामेछापकै लिखु तामाकोशी गाउँपालिका–२ सैपुकी ५८ वर्षीय लिङमा तामाङ पहिरोमा पुरिएर गम्भीर घाइते हुनुभएको छ ।

घर नजिकैको जङ्गलमा हिजो दिउँसो बाख्रा चराउन गएकी तामाङलाई बसिरहेको ठाउँ माथिबाट अकस्मात् पहिरो खसेर पुरेको थियो ।बाख्रा चराउन गएका अरू गोठालाहरूले तामाङलाई पहिरोले पुरेको देखेपछि तत्काल घटनास्थलबाट उद्धार गरी अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । उहाँलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search