मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”
यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।
समाचारहरु
मकालु गाउँपालिकाद्धारा ५७ करोड बढीको योजना पारित
मकालु गाउँपालिकाको १२ औं गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको केन्द्र नुममा गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । अधिवेशनले ५७ करोड ६४ लाख ४२ हजार विनियोजित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष मनकला राईले पेश गरेको विनियोजन विधेयक सर्वसम्मत पारित गरेको हो ।
यस्तै आर्थिक समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष बद्री बहादुर राईले आर्थिक विधेयक पेश गरेका थिए ।
मकालु गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
मकालु गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको केन्द्र नुम बजारमा कार्यक्रम सम्पन्न भएको हो । मकालु गाउँपालिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको सार्वजनिक सुनुवाई कार्यक्रम चालु आर्थिक वर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम र सेवा प्रवाहको विषयमा केन्द्रित रहेको थियो । मकालुका ६ ओटै वडामा कार्यक्रम सम्पन्न भए पश्चात गाउँपालिकाको कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको योजना, कार्यक्रम तथा प्रगति विवरण स्वास्थ्य शाखा प्रमुख छिङ दोर्जी लामाले प्रस्तुत गरेका थिए भने परामर्शदाताको रुपमा बगैंचा मिडियाका नविनकला जैरुले सार्वजनिक सुनुवाई सर्वेक्षण फारमबाट प्राप्त सुझावलाई प्रतिवेदनको रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले यस वर्ष गाउँपालिकाले वेरुजु फच्र्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा आभार प्रकट गरेका थिए । मकालु गाउँपालिकाले यस वर्ष ११ करोड १८ लाख ४१ हजार ९ सय ६३ रुपैंया ३० पैसा वेरुजु फच्र्यौट गरेको हो ।
कार्यक्रममा सेवाग्राही तथा सहभागीहरुले गाउँपालिकाले गरिरहेका योजना तथा सेवा प्रवाहको विषयमा जिज्ञासा साथै सुझाव पेश गरेका थिए । उठेका सवाल माथि वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जी, उपाध्यक्ष मनकला राई र अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले प्रष्ट पारे ।
वेरुजु घटाएकोमा मकालु गाउँपालिकालाई स्थानीयद्धारा प्रशंसा
मकालु गाउँपालिकाले यस चालु आर्थिक वर्षमा वेरुजु रकम घटाएको छ । महालेखा परिक्षकको ६२ औं प्रतिवेदनमा उल्लेख भए अनुसार यस वर्षमा मकालु गाउँपालिकाको बेरुजु रकम २ करोड ३४ लाख ८९ हजार ७ सय ६२ रुपैंया रहेको छ । यससंगै गाउँपालिकाले यस वर्ष ११ करोड १८ लाख ४१ हजार ९ सय ६३ रुपैंया ३० पैसा वेरुजु फच्र्यौट गरेको छ । वेरुजु फच्र्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्थानीयद्धारा गाउँपालिकाको प्रशंसा गरिएको छ ।
बुधबार मकालु गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्थानीय तथा नागरिक अगुवाहरुले गाउँपालिकाको प्रशंसा गरेका हुन् । २०७४÷०७५ देखि गत वर्षसम्म २० करोड ७ लाख ३ हजार ८ रुपैंया बेरुजु रहेको थियो । गाउँपालिकाले यसै वर्ष मात्रै करिव ५५ प्रतिशत वेरुजु फच्र्यौट गरेको हो । तत्कालै ३ करोड बढीको बेरुजु फच्र्यौटको अन्तिम तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । जिल्लाका १० स्थानीय तह मध्ये वेरुजु कम हुनेमा मकालु गाउँपालिका दोस्रो स्थानमा छ ।
मकालु गाउँपालिकाद्धारा ३ जना कर्मचारी सम्मानित
मकालु गाउँपालिकाले ३ जना कर्मचारीलाई सम्मान गरेको छ । मंगलबार सम्पन्न १२ गाउँसभाको अवसरमा गाउँपालिकाले ३ कर्मचारीलाई सम्मान गरेको हो ।
गाउँपालिकाले उत्कृष्ट कर्मचारी वर्षको रुपमा स्वास्थ्य शाखा प्रमुख छिङदोर्जी लामालाई सम्मान गरेको छ भने वेरुजु फच्र्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै लेखा अधिकृत अरविन्द झा र सव इन्जिनियर गायत्री घिमिरेलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई जनही १ लाख रुपैंया र सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।
मकालु गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
मकालु गाउँपालिका पूर्ण खोप खोषणा गरिएको छ । बिहिबार गाउँपालिका स्तरीय खोप समन्वय समिति मकालुको आयोजनामा मकालु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
आयोजक समितिका सदस्य सचिव तथा मकालु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छिङ दोजी लामाले गाउँपालिका भित्र पूर्ण खोप सञ्चालनका लागि भए गरेका गतिविधिहरु प्रतिवेदनमार्फत प्रस्तुत गरेका थिए । जन्मेदेखि १६ देखि ५९ महिना उमेर भित्रका बालबालिकालाई खोप लगाउँन स्वास्थ्यकर्मीहरुलाई सबै वडामा परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ । मकालु गाउँपालिकाका उक्त उमेर समुहका ६ सय जना बालबालिकालाई पूर्ण खोप लगाई सकिएकाले पूर्ण खोप घोषणा गरिएको हो । यस्तै जन्मे देखि १५ महिनाका २ सय ९ जना बालबालिकालाई पूर्ण खोप लगाइएको थियो ।
यस्तै पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एच.पि. खोप १० देखि १४ वर्षको उमेरभित्र रहेका किशोरीलाई दिइएको छ । कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष सम्म उमेरका किशोरीहरुलाई लक्षित गरेर खोप दिइएको हो ।
विद्यालय तहका ५ सय ७० जनालाई र विद्यालय बाहिर रहेका २९ जना गरी ५ सय ९९ जनालाई खोप प्रदान गरिएको छ । कार्यक्रममा ६ ओटै वडाका स्वास्थ्य संस्थाहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
शिवधारा – मकालु वेशक्याम यात्रा चित्र
विश्वको पाँचौ अग्लो शिखर मकालु हिमाल र शिवधारा वडा नं. २ मा पर्दछ । मकालु वेशक्याम्प यात्रा कै क्रममा शिवधारा तिर्थाटन गर्न सकिने भएकाले मकालु वेशक्याम र शिवधारा पद मार्ग र यहाँको महत्वको बारेमा प्रस्तुत गरिएको छ ।
पहिलो दिन
शिवधारासम्म यात्रा गर्न हवाई तथा यातायात सेवाले सहज बनाएको छ । काठमान्डौंबाट हवाई सेवा, बिराटनगर, इटहरी र धरानबाट भेडेटार, धनकुटा हुँदै खाँदबारीसम्म पक्की सडकमा सहज यात्रा गर्न सकिन्छ । खाँदबारीबाट पहिलो दिन किमाथांका राजमार्गको कच्ची सडकमा छ्याङकुटी, चिचिला, देउराली र मुढे हुँदै करिब ४० किलोमिटर कच्ची सडक पार गर्दै मकालु गाउँपालिकाको नुम बजार पुगिन्छ । करिब ३ घण्टा यात्रापछी बिहानको खाना खान यहाँ आइपुगिन्छ । तर वर्खायाममा हिलाम्य र हिउँदमा धुलैधुलोमा कष्टकर यात्रा हुन्छ ।
नुम बजारबाट हिउँदमा टाँसी गाउँसम्म गाडीमा नै यात्रा गर्न सकिन्छ । तर सडकलाई छोडेर पैदल यात्रा गर्नुनै उचित हुन्छ । नुमबाट शिवधारा हुँदै मकालु वेश क्याम्पसम्म पुग्न पदमार्ग निर्माण गरिएका छन् । नुमबाट ओराली यात्रामा चाम्ला खर्क हुँदै सेदुवातर्फको अरुण नदीको पुल तर्न करिब ३ घण्टा यात्रा हुन्छ । तर यो यात्रामा खच्चर र मानवीय पदमार्ग एकै भएकाले दुर्गधले ग्रसित बनाउँछ । ढुवानीका लागि खच्चर नै बढी प्रयोग हुने भएकाले सेदुवासम्मको बाटोमा दुगर्ध बढी छ । यहाँबाट माथिको यात्रामा दुर्गन्ध पातलीदै जान्छ । अरुणबाट त्यती नै उकालो बाटो हो सेदुवा पुग्न पनि । सेदुवा मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो । यहाँ निकुञ्ज कै सहयोगमा होमस्टे सञ्चालन गरिएका छन् । बास बस्नलाई साँझसम्ममा सेदुवा पुगिन्छ ।
दोस्रो दिन
यात्राको दोस्रो दिन सेदुवाबाट बिहानै हिड्दा च्याक्से डाँडा पार गर्दै टासी गाउँतर्फ यात्रा अघि बढ्छ । केही ठाउँमा सडक प्रयोग हुन्छ भने पैदल मार्ग हुँदै टाँसी गाउँ बिहानको खाना खान पुगिन्छ । खानापछीको यात्रा भने असहज हुने नै छ । मनमोहक सुन्दर दृष्यपान गर्दै डाँडा खर्क, देउराली हुँदै ३५ सय मिटर उचाइमा रहेको खोङमा दोस्रो दिनको बासका लागि पुगिन्छ ।
तेस्रो दिन
यात्राको तेस्रो दिन लाली बिहानीमा लुकामारी गर्दै उदाइरहेको सूर्यले गन्तव्यसम्म पुग्न शाहस दिएको अनुभुति हुन्छ । खोङ्माबाट करिब दुई घण्टा उकालो चढेपछी देउराली भेटिन्छ । यहाँबाट यो यात्रामा सञ्चार सेवा बन्द हुन्छ । केही ठाउँमा झुक्किएर मात्रै सेवा सञ्चालन हुन्छ । हिउँदमा यहाँबाट धेर थोर हिउँको थुप्रो सुरु हुन्छ । मौसम खुलेको बेला यहाँबाट चाम्लाङ, हिमाल, जोरखम्बे हिमाल लगायतका हिमशृंखलाहरुको मनमोहक दृष्यपान गर्न पाइन्छ । यहाँबाट संखुवासभा र भोजपुर जिल्लाका भौगोलिक अवस्थितिलाई नियाल्न सकिन्छ । देउरालीबाट केही माथि पुगेपछी फकिएर हेर्दा यहाँ निर्माण गरिएका पदमार्ग चीनको ग्रेटवाल जस्तै देखिन्छन् ।
उचाईको यात्रा भएकाले कहिले काहीँ लेक लाग्ने समस्या हुन्छ । तर यात्रालाई सहज बनाउन बोकेका सातुसामल यतिबेला बहुमुल्य औषधी बनिदिन्छ । भुईमा लिपीएका चिमल, सुनपाती र भैरुङपातिका सुगन्धित बास्नासंगै सानो पोखरी पुगिन्छ । यहाँ पुग्नेहरु यात्रा सफल हुने उद्धेश्यले पुजा गर्ने चलन छ । सानो पोखरी राईहरुले पत्ता लगाएको भन्ने भनाई छ ।
यहाँबाट दुई घण्टा कठिन यात्रामा बिहानको खाना खान ४२ सय ८ मिटर उचाईमा रहेको ठूलो डाँडा पुगिन्छ । यसलाई सेप्तेम्ला पास पनि भनिन्छ । यहाँको उचाई पार गर्नेहरु धेरैले मकालु वेश क्याम्पसम्म सहजै यात्रा गर्न सक्छन् भन्ने गरिन्छ । किनकी शिवधारा यात्रा गर्दा सेप्तेम्ला पास क्षेत्रमा धेरै यात्रुहरुलाई लेक लाग्ने समस्या हुन्छ । अझ हिउँदमा हिउँको थुप्रोमा फस्ने सम्भावना हुन्छ । दिउँसो १२ बजे अघि नै ठुलो डाँडाको यात्रा गरिसक्नु गर्ने हुन्छ । यसपछी भने प्राय ठूलो हुरी चल्ने भएकाले समस्या हुनसक्छ ।
यहाँबाट ओरालो लागेपछी केही तल ठूलो पोखरी छ । यो पोखरी शेर्पाहरुले पत्ता लगाएको भन्ने भनाई छ । भगवान शिवजी इन्द्रको रुप धारण गरी हात्तिमा चढेर पार्वतीलाई भेट्न जाँदा शिवजी चढेको हात्ती ठूलो पोखरीमा आहाल खेलेको भन्ने भनाई छ । हात्तीको बच्चा पनि साथै भएकाले ठूलो हात्तीको खुटातिरको सानो पोखरीमा खेलेको भन्ने कथा यो क्षेत्रमा प्रचलित छ । यहाँ वरपर ठूलो आवाजमा होहल्ला गरे तत्काल मौसम परिवर्तन भई हावा हुरी सहित पानी आउने गर्छरे ।
यो पोखरीमा पुजा गरेर उकालो लागेपछी खिखिला पुगिन्छ । जहाँ माने निर्माण गरिएको चौतारोले पर्यटकलाई एकैछिन् विश्राम गर्न अुरोध गरेझैँ आभाष हुन्छ । खिखिलाबाट चिमल र सुनपातीको घारी बिचबाट खुड्कीलै खुड्कीलाको ओरालो बाटो ओर्लदा ३८ सय ६२ मिटरमा अवस्थित दोबाटेमा बास बस्न पुगिन्छ ।
चौथो दिन
यात्राको चौथोे दिन बिहान दोबाटेबाट ओराली लागेपछी ३६ सय ३५ मिटरमा रहेको मुम्बुक पुगिन्छ । पहिले दोबाटेमा बस्ती नहुँदा पर्यटकहरु यहाँ बस्ने गर्दथे । यहाँ भोटखोलाको वरुण दोभानबाट शिवधारा आउने बाटो पनि जोडिन्छ । तर यो बाटोमा बास बस्नको लागि उपयुक्त ठाउँ नभएकाले यो बाटो प्रयोग हुन छाडिसकेको छ ।
यहाँबाट केहीबेर हिँडेपछी जाँते ओडार पुगिन्छ । जाँतोजस्तै आकृतिको यो ओडारमा २/४ जना बस्न मिल्ने ओभानो ठाउँ छ । २०७३ साल अघि यहाँ करिब ४० जना मानिसहरु बस्न मिल्ने ठाउँ थियो रे । माथिबाट आएको पहिरोले ओडार छोपिएपछी जाँते ओडारको अस्तित्व सकिनै लागेको छ । पहिले पर्यटकहरुको घुइचो हुँदा मुम्बुकमा बास नपाएका पर्यटकहरु यहीँ ओढारमा बास बस्ने गर्थे ।
वरुण नदीको किनारै किनार यात्राको क्रममा अब ठूलो पहिरोको यात्रा गर्नुपर्ने हुन्छ । शिवधारा यात्रामा सेप्तेम्ला पासको कठिन यात्रा पछी यो अर्को कठिन यात्रा हो । जहाँ जीवन मृत्युको सवाल हुन्छ । पहिरोमा यात्रा गर्नुअघि सफल यात्राको कामना गरी पहिरोको सुरु बिन्दुमा रहेको देउरालीमा पाती चढाइन्छ । ठूलो पहिरोमा पैदल मार्ग निर्माण गरे पनि बेला बखतमा आउने पहिरोले क्षति पुर्याउँदा यात्रा गर्दा केही असजिलो हुने गरेको छ । यस क्षेत्रमा पानी परेको समयमा यात्रा गर्न असुरक्षित मानिन्छ । पहिरो माथितिर वन्य पशुपक्षी हिडे मात्रै पनि ढुंगा वा पहिरो खस्ने जोखिम छ । त्यसैले यहाँ यात्रा गर्दा छिटो गरी बाटो पार लाउनु नै बेश हुन्छ ।
वरुण नदीको किनारै किनार अघि बढेपछी करिब दुई घण्टा यात्रामा ३४ सय ८३ मिटरमा रहेको फेमाताङमा बिहानको खाना खान पुगिन्छ ।
यहाँबाट यात्रा अघि बढेपछी छ्याम्केशा, गारासिशा हुँदै ३६ सय मिटरमा रहेको याङ्ले खर्कमा बास बस्न पुगिन्छ ।
पाँचौ दिन
पाँचौ दिनको यात्रा याङले खर्कबाट सुरु हुन्छ । बरुणमा बगेको सेतो पानीले माझेका सेता बगरमा कुल्चदै नदीको बिपरित दिशामा भत्तजनहरुको यात्रा जारी रहन्छ । न्हे खर्क तर्नु अघि यहाँबाट शिवधारा, मकालु वेशक्याम्प र मकालु हिमाल आरोहण गर्नेहरुको बाटो छुटिन्छ । शिवधारा जानेहरु बाँयातर्फ वरुण नदी तरेर न्हे खर्कतर्फ लाग्छन् भने मकालु वेशक्याम्प जानेहरु वरुणको दायाँतर्फ बगरैबगर उकालो लाग्छन् । कहिलेकाही पर्यटकहरुको चाप हुँदा यहीँ न्हे खर्कमा बास बस्नका लागि आउँछन् ।
३६ सय ९६ उचाईमा रहेको न्हे खर्क शिवधाराको आधार शिविर हो । यहाँबाट खतरानाक तर महान् यात्रामा कसैलाई बिग्नबाधा नपरोस् भनी पुजा गर्ने चलन छ । यहाँबाट उकालो यात्रामा भुईमा लिपीएका सुनपाती समाउदै त कहिले फलामको साङ्लीको सहारामा करिब ४ घण्टा पहराको कष्टकर यात्रा हुन्छ ।
४३ सय १० मीटरको उचाइमा रहेको शिवधारामा पुगेपछी शिवको जटाबाट झरेको धारामा नुहाउने गरिन्छ । पहराको बिचमा गुफा अनि गुफाको बिचबाट झरेको धारा देख्दा साँच्चै शिव भगवानको बास रहेको आभाष हुन्छ । कहिले कता कहिले कता भएर धारा सरिरहने भएकाले धर्मातीलाई मात्र पानीको धाराले अभिशेक गर्ने किम्बदन्ती छ । जनैपुर्णिमामा हिन्दु धर्मावलम्वी र शिवधारा घुम्न आउनेहरुको भिड नै हुन्छ । वैदिक तथा पौराणिक शास्त्रको आधारमा शिवधाराको उत्पतिको कथा तथा विभिन्न मान्यताहरु छन् । स्वस्थानी ब्रतकथा अनुसार यहाँ शिव र पार्वतीको बासस्थान रहेको छ । पौराणिक कालमा भष्माशुरबाट बच्नका लागि लुक्ने र भाग्ने क्रममा शिवजी आफ्ना अर्धांगिनी पार्वतीलाई लिई यसै गुफामा लुकेर जीवन बचाएको धार्मिक किंबदन्ती छ । त्यसैले शिवधारालाई धार्मिक तीर्थस्थलका रुपमा मात्र नभएर शक्तिका प्रतिकका रुपमा समेत लिने गरिन्छ ।
बौद्धधर्मावलम्बीहरु यसैलाई खेम्पालुङ पर्वतमालाको एउटा गुफाको रुपमा चिन्दछन् । यहाँ महागुरु पद्मशम्भव तपश्यामा बसेको विश्वास गरिन्छ । राक्षशले दुख दिएका कारण पद्मशम्भव गुफाहरु सर्दै र भाग्दै तपश्या गर्ने क्रममा पार्वती गुफाको सुरुङबाट भागेर खेम्पालुङ गुफामा सरेको रे । राक्षशले अत्यन्तै दुख दिएपछी यहाँबाट पनि महागुरु अलप भए । बौद्ध अध्येता र अनुयायीहरु यहीँ मान्यतामा सत्य स्थापित गरिरहेका छन् । माथिल्लो अरुण वा बरुण उपत्यकाका बौद्धमार्गीहरु न्हे लाई महान् तीर्थको रुपमा मान्दछन् । यो संगै जोडिएको खेम्पालुङ पवित्र धार्मीक स्थल हो, शिवधारा । गुफामा झरेको पानी ठू अर्थात् अभिषेक पानी खार्ताको खाङले छेजीबाट आउने गर्छ । खाङले छेजीबाट बौद्ध कल्याणका लागि आएको ठू याङले छेजीमा निश्कन्छ । बौद्ध मार्गीहरु सारा पाप मुत्तिका लागि यहाँ अभिशेक लिन्छन् ।
यहाँबाट करिब सय मिटर तेर्सो र उकालो यात्रामा गणेश आकृति रहेको स्थानमा पुगिन्छ । सतीदेवी मेनकाको गर्भमा बसेर पर्वतपुत्री पार्वती भई जन्मिएकी पछी महादेवले बिहे गर्न खोज्दा पार्वतीलाई गुफा भित्र लुकाएको र गणेश जन्मिएपछी महादेव र पार्वतीको बिचमा बसेका यी सबै कथा र प्रसंग पर्वत शृंखला र भूबनोटले चित्र आफै बोलीरहेका हुन्छन् । गणेश आकृतिमा पुजा गरेपछी करिब पाँच सय मिटर दूरीमा पार्वती गुफा पुगिन्छ । ४३ सय १६ मिटर उचाइमा रहेको छ यो पार्वती धारा ।
सत्य युगमा भगवान विष्णुलाई हिमालय पर्वत राजासँग पार्वती माग्न जाँदा शिवजीसँग मात्रै विवाह गर्ने पार्वतीको प्रतिज्ञा भएकाले पार्वतीका साथीसंगीहरुले भगवान विष्णुबाट पार्वतीलाई लुकाएको गुफा हो पार्वती गुफा । गुफाको बाहिर पार्वतीले शिवजी पति पाउँ भनी स्वस्थानीको ब्रत बस्दा दिनदिनै नुहाउने धारा पनि रहेको छ । जुन धारालाई पार्वती धारा भनिन्छ । आकाशबाट हावामा लहराउँदै आएको निर्मल पानी मानिसको कल्याणका लागि खस्छ । शिवधारामा जस्तै यहाँ पनि पाप धर्मकै आधारमा पानी पर्ने र परैबाट जाने मान्यता छ । यहाँ नुहाउन जाँदा शिलामा लिपिएका तीन ओटा सिमारेखाहरु देखिन्छन् । जुन रेखालाई लक्ष्मण रेखा भन्ने गरिन्छ । स्नान गर्दा दोस्रो र तेस्रो रेखा कटेर कोही पनि जान नहुने बताइन्छ ।
यहाँबाट तीन घण्टा ओराली यात्रा गरेपछी न्हे खर्क झरिन्छ । न्हे खर्कबाट आमा भुजुङ अर्थात् मा भुजुङ दर्शनका लागि जानेहरु पहाडको फेदैफेद दाँयातर्फ लाग्छन् । यो अजंगको शिलाबाट बनेको आकृति हो, आमा भुजुङ । शेर्पा भाषाबाट राखिएको यो नामको अर्थ हुन्छ गर्भवती । वैदिक मान्यता अनुसार हिमालय पर्वत राजाकी पत्नी मेनुकाले पार्वतीलाई पेटमा बोकेको मान्यता छ । छोराछोरी नहुनेले शिवधारा, पार्वती गुफाको दर्शन गरेर मा भुजुङमा गएर मागेमा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास छ ।
न्हे खर्कबाट मकालु वेशक्याम्प जानेहरु लाम्ङालेमा बास बस्न पुग्छन् । जहाँबाट भोली पल्ट वेशक्याम्प पुगेर लाम्ङाले वा याङ्लेमा बास बस्न आइपुग्छन् । यहाँबाट खोङ्मामा बास बस्ने र सातौं दिनमा नुम बजार आइपुग्न सकिन्छ ।
यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र संखुवासभा एक्सप्रेस साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।