काठमाण्डौ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर अन्योलमा परेको छ ।
सरकार र नेपाल शिक्षक महासङ्घबीच असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति बनेको थियो । तर कतिपय विषयमा सहमति जुट्न बाँकी रहेको भन्दै विधेयक पारित गर्न ढिलाइ भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समिति बैठकमा पुगेर आजका लागि बैठक स्थगित गर्न प्रस्ताव गर्नुभएको छ । मन्त्री पन्तले मन्त्रालयमा शिक्षक महासङ्घसँग छलफल गर्नुका साथै सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सानेपा पुगेर भेटेपछि समिति बैठकमा पुगेर बैठक स्थगित गर्न आग्रह गर्नुभएको हो ।
पन्तले बैठक स्थगितको प्रस्ताव राख्दा धेरैजसो सांसदहरू आक्रोशित बनेका छन् । उनीहरूले आज राति १२ बजेसम्म भए पनि विधेयक पारित गर्नुपर्ने बताएका छन् ।











