काठमाण्डौ । नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गएको वर्षको तुलनामा यस वर्ष उल्लेख्य रूपमा घटेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागका अनुसार हिजोसम्म कोशी प्रदेशमा गएको वर्षको तुलनामा २० दशमलव ४ प्रतिशत र मधेश प्रदेशमा २७ दशमलव ७ प्रतिशत कम रोपाइँ भएको छ ।
विभागका अनुसार देशभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ८३ हजार ७३२ रहेकामा अहिलेसम्म ५९ प्रतिशत अर्थात् ८ लाख १६ हजार ४०५ दशमलव सात हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
गएको वर्ष असार २९ गतेसम्म ६७ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । समग्रमा गएको वर्षको तुलनामा यस वर्ष ८ दशमलव ६ प्रतिशत कम रोपाइँ भए पनि कोशी र मधेशमा भने निकै कम रोपाइँ भएको हो ।
नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँका लागि उपयुक्त वर्षा नहुँदा रोपाइँ कम भएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताउनुभयो । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा देशभर १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा अहिलेसम्म झन्डै ४०० मिलमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको २७ प्रतिशत वर्षा भएको छ । तर जनकपुर, सिमरा, विराटनगरलगायत वर्षामापन केन्द्रको तथ्याङ्क हेर्दा पूर्वी तराईमा औसतको ११ प्रतिशत हाराहारी मात्रै वर्षा भएको छ ।