काठमाण्डौ । निरन्तरको वर्षासँगै पाँचथरको हेवा खोलामा पानीको सतह बढेपछि मेची राजमार्ग अवरुद्ध छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलामा गाडी चल्न नसकेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । उहाँका अनुसार डाइभर्सन माथिबाट पानी बगेको छ ।
हिजो बेलुकादेखि नै पानीको बहाव बढेको थियो । बहाव घट्न अझै दुईरतीन घण्टा लाग्न सक्ने र त्यसपछि डाइभर्सनबाट गाडी चल्ने उहाँले बताउनुभयो । यसअघि २०८० साल असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो ।
पुल बगेपछि बनाइएको बेलिब्रिज पनि गएको असोज १२ गतेको बाढीले बगाएको थियो । त्यसपछि हेवा खोलामा डाइभर्सनको भरमा गाडी चल्ने गरेका छन् । यसैबीच बाढी र पहिरोका कारण तमोर करिडोर पनि अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाउँपालिका–९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । यस्तै पहिरो र लेदो बग्दा अरनिको राजमार्गको जुरे खण्डमा गाडी चलाउन समस्या छ ।
चरिकोट सडक डिभिजन कार्यालयका अनुसार तत्काल मोटरसाइकल र साना गाडी आवतजावत भए पनि ठूला गाडी रोकिएका छन् । बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ पिन्थलीमा अवरुद्ध सडक खुलेको छ । बीपी राजमार्गको यो खण्डमा डोजर प्रयोग गरी पहिरो पन्छाएको ट्राफिक प्रहरीले जनाएको छ ।











