तीन महिनामा २३ सय विपद्जन्य घटनामा एक सय दुई जनाले ज्यान गुमाए

काठमाण्डौ । गएको वैशाख १ गतेदेखि हिजोसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपद्जन्य दुई हजार तीन सय २६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद‍्मा परेर अझै २० जना हराइरहेका छन् । यसत् पाँच सय १२ जना घाइते भएका छन् भने चार हजार तीन सय २३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवम् उपसचिव सुरेश सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनी विपद‍्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका कारण मात्रै एक सय ५१ घटनामा १३ जनाको ज्यान गएको छ भने २० जना बेपत्ता भएका छन् ।

त्यसैगरी पहिरोका दुई सय सात घटनामा नौ र ठूलो वर्षाका एक सय तीन घटनामा दुई जनाको ज्यान गएको छ । चट्याङका दुई सय २९ घटनामा २८, सर्पदंशका ६३ घटनामा पाँच, आगलागीका नौ सय ७६ घटनामा १४ जनाको ज्यान गएको छ ।

यस्तै हुरीबतासका दुई सय ७३ घटनामा आठ, जनावर आक्रमणका एक सय २१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

डढेलोका एक सय ५८ वटा घटना, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई, असिनापानीका दुई घटना भएको तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ । ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार दुई सय ५४ घर प्रभावित बनाएको छ ।

यस्तै पहिरोले दुई ४१, ठूलो वर्षाले पाँच सय ४७, चट्याङले दुई सय ६४, सर्पदंशले ७० र आगलागीले एक हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जनाएको छ ।

डढेलोबाट २७, हुरीबतासबाट पाँच सय ३१, जनावरको आक्रमणबाट एक सय ८६, लेक लागेर ३२, डुङ्गा पल्टिएर पाँच, असिनापानी र हुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search