काभ्रे । काभ्रेको डाँडापारि महाभारत गाउँपालिका–१ गोकुलेबाट गर्भवतीको उद्धार भएको छ । राष्ट्रपति–महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार भएपछि आमा र शिशुको जीवन जोगिएको छ ।
अस्ति सोमवार बेलुकादेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्य चौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई गाह्रो भएपछि उद्धार गरिएको हो । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्य चौकीबाट रेनुकालाई काठमाण्डौको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको हो ।
यसअघि गएको शुक्रवार महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो । महाभारत गाउँपालिकामा धेरैजसो सडक कच्ची छन् । वर्षामा सडक बिग्रने भएकाले हेलिकप्टरबाट गर्भवती तथा सुत्केरीको उद्धार गर्नुपर्ने बाध्यता छ ।