काठमाण्डौ । बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको आज हुने भनिएको शपथ अचानक रोकिएको छ । आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम रहेकोमा प्रदेश प्रमुखको कार्यालयले अनिश्चितकालका लागि स्थगित गरेको हो ।
बिहान प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर नवनियुक्त मन्त्रीहरू गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानून), गीता गुरुङ (सहकारी तथा गरिबी निवारण) र माया श्रेष्ठ (युवा तथा खेलकुद) को शपथ आज नहुने जानकारी गराएको हो । प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएको र बिहानै काठमाण्डौ जानपर्ने भएका कारण शपथ कार्यक्रम अर्को मिति तय नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आफूलाई कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाउन आफ्नै पार्टीका पाँच मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो ३ मन्त्री नियुक्त गर्नुभएको थियो ।
उनीहरूको शपथ हिजै हुने भनिए पनि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले फोन गरेर तत्काल रोक्न भनेपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय शपथ कार्यक्रम पनि अनिश्चितकालका लागि स्थगित भएको हो ।
हिजो बागमती कांग्रेस संसदीय दलमा भएको चुनावमा इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी हुनुभएको थियो । पराजित भएका मुख्यमन्त्री बहादुरसिं लामाले पदबाट राजीनामा नदिने अडान लिनुभएको छ ।